कौरा पुरस्कारका लागि छनौट समिति गठन, संयोजकमा श्रीस

पोखरा, १८ असार

राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७८”का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।
नेपाल मगर पत्रकार संघ, कास्कीको शुक्रबार सम्पन्न बैठकले संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा पाँच सदस्यीय छनौट समिति गठन गरेको हो । छनौट समितिका सदस्यहरूमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्कबहादुर आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, केन्द्रीय सदस्य नरमाया आलेमगर र संघका कास्की अध्यक्ष रूद्रबहादुर थापामगर रहनुभएको छ ।
प्रतिभा छनौट समितिले मगर जातिको मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको उत्थान र प्रवद्र्धनका लागि पत्रकारितामार्फत् योगदान दिने एक जना मगर पत्रकारलाई छनौट गरी पुरस्कारका लागि सिफारिस गर्नेछ । यस पुरस्कारबाट यसअघि, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)की कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसक्नुभएको छ ।
पुरस्कार राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालको स्थापना दिवस जेठ १५ गते प्रदान गरिने भएपनि कोरोना महामारीको विषम परिस्थितिका कारण पुरस्कार प्रदान गरिने मिति पछाडि धकेलिएको संरक्षण समितिका अध्यक्ष आलेमगरले जानकारी दिनुभयो । परिस्थिति सहज भएपछि पुरस्कार प्रदान गर्ने कार्यक्रमको मिति भने केही दिनमा निश्चित गरिने उहाँले बताउनुभयो ।

Advertisment