स्थानीय तहमा हाप्किडो संघ, पोखरा महानगर अध्यक्षमा गुरुङ

पोखरा, १७ असार
नेपाल मार्शल आर्टस् हाप्किडो संघले देशव्यापी संगठन विस्तार गर्ने क्रममा स्थानीय तहसम्म आफ्नो संगठन स्थापना गर्न सफल भएको छ । स्थानीय तहमा संगठन विस्तार गर्ने क्रममा बिहीबार भएको संघको एक भेलाले पोखरा महानगर समिति गठन गरेको छ । सो भेलाले अध्यक्षमा धनराज गुरुङलाई चयन गरेको छ ।
त्यसैगरी, उपाध्यक्षमा सोम शेर्पा, सचिवमा श्रीकृष्ण पराजुली र कोषाध्यक्षमा कुश्मी गुरुङ चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा सफल लामा, योक्तराज दुरा, राजु गुरुङ, विनोद पुन, दीपक थापा, मोनालिसा मल्ललगायत रहनुभएको छ ।
यसअघि, पोखरा महानगर समिति घोषणा कार्यक्रमको उद्घाटन गर्दै नेपाल मार्शल आर्टस् हाप्किडो संघ, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले संगठनलाई विस्तार गर्दै हाप्किडो खेलको विकासमा अघि बढ्नुपर्ने बताउनुभयो । राज्यको नजरमा अझै पनि मार्शल आर्टजस्ता खेलले प्राथमिकता पाउन नसकेको भन्दै उहाँले खेल क्षेत्रको विकासका लागि राज्यको पर्याप्त लगानी आवश्यक रहेको बताउनुभयो ।
संघले देशका सबै प्रदेश र जिल्लामा संगठन विस्तार गर्दै स्थानीय तहमा पनि संघलाई स्थापित गर्न लागिपरेको बताउँदै अध्यक्ष मगरले हाप्किडो संघलाई सबै स्थानीय तहसम्म पु¥याउनुपर्ने उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन हाप्किडो खेलले महत्वपूर्ण योगदान दिनसक्ने भन्दै उहाँले अनुशासित र सक्षम खेलाडी उत्पादन गर्न संघले विशेष ध्यान दिएको बताउनुभयो ।


प्रदेश खेलकुद परिषद्, गण्डकीकी कार्यकारी सदस्य तारामाया थापामगरले अन्य खेललाई जस्तै मार्शल आर्टलाई पनि परिषद्ले विशेष प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो । मार्शल आर्टबाटै आफू राज्यको खेलकुद निकायमा पुग्न सफल भएको भन्दै उहाँले मार्शल आर्ट खेलको विकासमा आफ्नो विशेष ध्यान रहने उल्लेख गर्नुभयो ।
सो अवसरमा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, पोखराका वरिष्ठ सञ्चारकर्मी हर्क आलेमगर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्र श्रीसमगरले सांगठनिक अभियानसँगै खेलको विकासमा संघले विशेष भूमिका हुने भनाइ राख्नुभयो ।
नेपाल मार्शल आर्टस् हाप्किडो संघ, कास्कीका अध्यक्ष मदन जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रविन गुरुङ र उपाध्यक्ष कृतिका गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment