मनाङका बाढीपीडितलाई लाफा रुङ फाउण्डेशन र मगर महिलाको साथ

बेंशीसहर, १६ असार
मनाङको नासों गाउँपालिका वडा नं. ८, ताचैका बाढीपीडितका लागि लाफा रुङ फाउण्डेशन र नेपाल मगर महिला संघले राहत सामग्री दिएको छ ।
अविरल वर्षाका कारण गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन बनेका बाढीपीडितका लागि फाउण्डेशन र मगर महिला संघले राहत सामग्री गाउँपालिका अध्यक्ष चन्द्र घलेलाई मंगलबार हस्तान्तरण गरेको हो । सो अवसरमा लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेमगर, सञ्चालक रक्षाबहादुर रैकामगर, संस्थापक सदस्य सुशीला थापामगर, तिलु आलेमगर, नेपाल मगर महिला संघकी अध्यक्ष एवं लाफा ग्रुपकी सदस्य विनिता आलेमगरलगायतले राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।


नासों गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष हुपजंग गुरुङलाई ती राहत सामग्री हस्तान्तरण गर्ने गरी गाउँपालिका अध्यक्ष घलेलाई हस्तान्तरण गरिएको लाफा ग्रुपकी अध्यक्ष आलेमगरले जानकारी दिनुभयो । जसमा ६० बोरा चामल, २५ केजी दाल, २५ केजी नुन, ६० लिटर तेल, मोबाइल पावर बैंक ३ थान र ५० हजार रुपैयाँ नगदलगायतका राहत सामग्री रहेका छन् ।


यसैबीच, “जहाँ विपद्, त्यहाँ लाफा रुङ फाउण्डेशन” भन्ने नाराका साथ लाफा रुङ फाउण्डेशनको दोस्रो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत बाढीपीडितसँगै चेपाङ समुदाय, एकल तथा अशक्त महिला, निषेधाज्ञा प्रभावित समुदाय र आगलागीपीडितका लागि समेत राहत वितरण गरिएको छ ।


जस अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिका वडा नं. १२, बक्राङका विपन्न मजदुर तथा चेपाङ समुदायका लागि राहत वितरण गरिएको छ । त्यस्तै, तनहुँको देवघाट गाउँपालिका वडा नं. २, जल्क्यानी, सालघारीनिवासी आगलागीपीडित मीनबहादुर माकिममगर, नवलपरासी (ब.सु.पू.)को बुलिङटार गाउँपालिका वडा नं. १ निवासी एकल तथा अशक्त महिला तुलीमाया डिसुवामगरलाई राहत वितरण गरिएको हो । सो अवसरमा लाफा ग्रुपका संस्थापक सदस्यहरू मनकुमार रोकिममगर, महेन्द्र थापामगर र भूपेन्द्र रिखाममगरले राहत वितरण गर्नुभएको थियो ।


लाफा रुङ फाउण्डेशनले दोस्रो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत मंगलबार एकै दिन मनाङका बाढीपीडितसँगै चितवन, तनहुँ र नवलपरासी (ब.सु.पू.)का आगलागीपीडित, कोरोना महामारी प्रभावित र एकल महिलाका लागि राहत वितरण गरेको हो । फाउण्डेशनले यसअघि, सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई राहत सामग्री वितरण गरिसकेको छ । हालसम्म झण्डै २५० घरधुरीलाई फाउण्डेशनले राहत वितरण गरेको छ । साथै, लाफा ग्रुपकी अध्यक्ष चन्द्रज्योति आलेमगरले लाफा रुङ फाउण्डेशनको राहत वितरण कार्यक्रमका लागि देश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्ण सहयोगदातालाई धन्यवाद समेत दिनुभएको छ ।

Advertisment