मास्क लगाउन र भीडभाडमा नजान गण्डकी प्रदेश प्रमुख शेरचनको अपिल

पोखरा, १० वैशाख
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले कोभिड–१९ को दोस्रो लहर तीव्र रुपमा बढेको भन्दै सर्वसाधारण नागरिकलाई मास्क लगाउन र भीडभाडमा नजान अपिल गर्नुभएको छ ।
समाजसेवी स्व. जगत्र शेरचन र स्व. राधा शेरचनको स्मृतिमा शुक्रबार आयोजित शोकसभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले कोरोना भाइरसबाट बच्न सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । अत्यावश्यक कामका लागि घरबाहिर जाँदा अनिवार्य मास्क लगाउन आग्रह गर्दै उहाँले कोरोना भाइरसले कुनै उमेर समूह नछुट्याउने र माया, मोह नराख्ने बताउनुभयो ।
आफ्नो काका समाजसेवी जगत्र शेरचनको निधनले आफूले अभिभावक र संरक्षक गुमाएको महसुस गरेको भन्दै प्रदेश प्रमुख शेरचनले उहाँको निधनमा थकाली समुदायले समेत अपूरणीय क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । साथै, आफ्नो भाइ बुहारी राधा शेरचनको अल्पायुमै भएको निधनले आफू मर्माहत भएको बताउँदै उहाँले शोकलाई शक्तिमा बदलेर परिवारजन अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
न्होर्जोफोवे (कुल) सेवा समिति, भुर्जुङकोट, मुस्ताङले पोखरामा आयोजना गरेको शोकसभामा समाजसेवी प्रान्ति शेरचन, केन्द्र शेरचन, गुप्त शेरचन, गोविन्द गौचन र भीम शेरचनले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । शोकसभामा शेरचन परिवारका सदस्य, आफन्तजन र थकाली समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।

Advertisment