पोखरा, १३ माघ
वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा “रूद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार–२०७६” बाट पुरस्कृत हुनुहुने भएको छ । स्व. रूद्रबहादुर भट्टराई तथा पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित र नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिद्वारा सञ्चालित सो पुरस्कार वरिष्ठ पत्रकार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो । पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षँतामा तनहुँमा सम्पन्न बैठकले प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई अनुमोदन गरेको हो ।
महासंघ प्रदेश समितिका सल्लाहकार रवीन्द्रनाथ बाँस्तोलाको संयोजकत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा, पुरस्कारका संस्थापक तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, प्रदेश समितिका अध्यक्ष पौडेल र महासचिव गणेश पौडेल सदस्य रहेको प्रतिभा छनौट समितिले पत्रकार शर्मालाई पुरस्कारका लागि सिफारिस गरेकामा बैठकले त्यसलाई अनुमोदन गरेको हो ।
पहिलो पटक प्रदान गर्न लागिएको पुरस्कारको राशी रु ५१ हजार १११ छ । पुरस्कृत हुन लाग्नुभएका व्यक्तित्व शर्मा वि.सं २०२८ साल देखि पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएको थियो। त्यसैगरी महासंघ प्रदेश समितिको साधारणसभा आगामी फागुन १ गते पोखरामा गर्ने निर्णय गरेको छ ।
साधारणसभा सम्पन्न गर्न गणेश पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति, मञ्च तथा अतिथि सत्कार संयोजकमा इन्द्रप्रसाद पौडेल, प्रचारप्रसार संयोजक रूद्रबहादुर श्रीस, जिल्ला शाखाहरूबाट सिफारिस भइआएका सदस्यताबारे आवश्यक निर्णय तथा तत्सम्बन्धमा प्राप्त भइआएका उजुरीबारे आवश्यक छानविनका लागि अध्यक्ष त्रिभुवन पौडेलको संयोजकत्वमा उपाध्यक्ष नारायणप्रसाद शर्मा र महासचिव गणेश पौडेल रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
प्रेस स्वतन्त्रता सेनानी शर्मालाई ‘रूद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार’
१४ माघ २०७७, बुधबार
367

Advertisment