खेलकुदले मानिसको चेतनालाई व्यवस्थित पार्छ ः रोका

पोखरा, ९ माघ
नेपाल मार्शल आर्टस् हाप्किडो संघका केन्द्रीय सल्लाहकार नवीन रोकामगरले खेलकुदले मानिसको चेतनालाई व्यवस्थित बनाउने बताउनुभएको छ ।
संघले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै रोकामगरले खेलले मानिसलाई चेतनशील, अनुशासित र व्यवस्थित हुन सिकाउने उल्लेख गर्नुभयो । युवाहरूलाई खेलकुदमा संगठित गर्न आवश्यक रहेको भन्दै उहाँले प्रशिक्षित र संगठित गर्दै युवाहरूलाई राष्ट्र निर्माणको बाटोमा अग्रसर गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
खेलकुदकै माध्यमबाट समाज र देशलाई विश्वमा चिनाउन सकिने बताउँदै रोकामगरले खेलकुदमा राज्यको पर्याप्त लगानी अझै हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । देशको गौरव र शान राख्ने खेलकुदलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले खेलकुदका माध्यमबाट राष्ट्रिय एकता समेत बलियो बनाउन सकिने भनाइ राख्नुभयो ।
संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले हाप्किडो सबैले खेल्ने र सबैले बुझ्न सक्ने खेल भएको बताउनुभयो । आत्मसुरक्षाका लागि हाप्किडो आवश्यक रहेको भएको भन्दै उहाँले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन समेत हाप्किडोको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । हाप्किडोलाई शिक्षाको प्रमुख आधार बनाउने अभियानमा आफूहरू रहेको घर्तीमगरको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस, हाप्किडोका कास्की जिल्ला अध्यक्ष मदन जिसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र पोखरा महानगरपालिका वडा नं. १४ का वडा कमिटी अध्यक्ष बलबहादुर सेञ्चुरीले हाप्किडो खेलको विकासका लागि संघले खेलेको भूमिकाका बारेमा आफ्नो भनाइ राख्नुभएको थियो ।
संघका गण्डकी प्रदेश अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम बुढामगर र उपाध्यक्ष तारामाया थापामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment