महिला भलिबलकी कप्तान अरुणालाई ज्ञानुबाबाको सम्मान

पोखरा, ७ माघ
‘क्विन अफ दि भलिबल’ उपाधी पाएको ज्ञानुबाब आवासीय मावि, पोखराले नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।
‘वर्ष उत्कृष्ट टिम’की कप्तान अरुणाले हालै सम्पन्न एनएसजेएफ स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस विधामा बिजेता बन्न सफल भएकोमा सम्मान गरेको हो । अरुणालाई नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्व उपकप्तान समेत रहेकी मञ्जु गुरुङले सम्मान गरेकी हुन् । टिममा नपरेपछि भलिबलको कार्यक्रममा खासै देखा नपरेकी मञ्जु भने आफ्ना आमा भीमसुबा गुरुङलाई लिएर ज्ञानुबाबा पुगेकी थिइन् ।
महिला भलिबलमा ज्ञानुबाबाको उत्पादन रहेका मञ्जु र अरुणा दुवैले एनएसजेफ पिपुल्स च्वाइस अवार्ड हात पारेका छन । मञ्जुले यो सफलता २०६५ सालमा हात पारेकी थिइन् । विद्यालयले बोलाएर सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै अरुणाले आफू अझै भलिबल खेलमा प्रतिबद्ध भएर अगाडी बढ्ने बताइन् । सो अवसरमा आफ्नो टिमकी बहिनी अरुणालाई आफ्नो हातले सम्मान गर्ने अवसरमा विद्यालयले प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै अरुणाको भलिबल यात्राको सफलताको शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा विद्यालयकी प्राचार्य शुभकन्या गुरुङ, संस्थापक/प्राचार्य तथा अध्यक्ष कृष्णबहादुर गुरुङ, विद्यालय व्यवस्थापनकी सदस्य गीता गुरुङ, अक्षयकोष दाता कुमारी खड्गी, अभिभावक, शिक्षक, विद्यार्थी लगायतले अरुणालाई सम्मान गरेका थिए । सो अवसरमा विद्यालयका अध्यक्ष गुरुङले भलिबल खेलको विकासमा राज्यले ध्यान दिए विद्यालयले पनि पुनः भलिबल खेलाडी उत्पादन गर्नतर्फ आवश्यक ध्यान दिने उल्लेख गर्नुभयो ।

Advertisment