अन्तर एकाइ खुल्ला ब्याडमिन्टनको उपाधि कदममार्ग एकाइलाई

पोखरा, २९ पुस
नेपाल मगर संघ, नमुना एकाइ समिति, पोखरा–१४, चाउथेले माघे संक्रान्ति पर्वका अवसरमा आयोजना गरेको जिल्लास्तरीय अन्तर एकाइ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि कदममार्ग एकाइ समितिले जितेको छ ।
बुधबार भएको फाइनलमा रामबजार एकाइ समितिलाई सोझो सेटमा हराउँदै कदममार्गले उपाधि जित्न सफल भएको हो । त्यस्तै, भेट्रान्सतर्फको उपाधि रामबजार एकाइ समितिले जितेको छ भने महिलातर्फको उपाधि पनि रामबजारले जित्न सफल भएको छ । महिलातर्फ फाइनलमा पुगेको बागलुङ–पोखरा मगर समाजका खेलाडी समयमा उपस्थित नभएपछि रामबजारलाई विजयी घोषित गरिएको थियो । बिजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।


यसअघि, ब्याडमिन्टन प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको उद्घाटन गर्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले खेलकुदका माध्यमबाट मगर समुदायलाई अघि बढाउन यस्ता प्रतियोगिताले टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगर, पोखरा महानगरपालिका वडा नं. १४ का वडा सदस्य जितेन्द्रजंग थापा, नेपाल मगर संघ, कास्कीका संगठन विभाग प्रमुख क्या. भक्तबहादुर पुनमगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल मगर संघ, नमुना एकाइ समिति, पोखरा–१४, चाउथेका अध्यक्ष ओम श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव थापामगरले गर्नुभएको थियो भने खेल संयोजक सु. बलबहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

Advertisment