लायन्स क्लब गण्डकी प्रदेशद्वारा विपन्न विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

पोखरा, १ पुस
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले विपन्न तथा जेहन्दार विद्यार्थीलाई कम्प्युटर तालिम निःशुल्क प्रदान गर्न सुरु गरेको छ । ग्लोबल आइटी एजुकेशन अमरसिंहचोकमा बुधबार एक कार्यक्रमबीच तालिमको उद्घाटन भएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी वान नेपालका जोन चेयरपर्सन सुरेन्द्र पौडेलले विद्यार्थीलाई कम्प्युटर तालिम निःशुल्क प्रदान गरेर क्लबले उदाहरणीय कार्य गरेको बताउनुभयो । ‘लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको छ,’ उहाँले भन्नुभयो ।


क्लबका अध्यक्ष कोपिला श्रीसको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट चियरपर्सन तथा ग्लोबल आइटीका सञ्चालक विकास भुर्तेलले २१ औं शताब्दीमा कम्प्युटर शिक्षाको महत्व धेरै रहेकाले राम्रोसँग ज्ञान हासिल गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष उषा हिस्की मगर, पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा पोखरा–२४ का वडा सदस्य सन्तु सुवेदी, क्लबका कोषाध्यक्ष सुशीला रामदाम, क्लबका सदस्य सोनु श्रेष्ठले बोल्नुभएको थियो ।
१५ जना विद्यार्थीले ३ महिनासम्म कम्प्युटरको डिप्लोमा कोर्श अध्ययन गर्ने क्लबका अध्यक्ष कोपिला श्रीसले जानकारी दिनुभयो । क्लबका निर्देशक वीरेन्द्रकुमार पुन (हाल जापान) र सुरेन्द्र थापा (हाल दक्षिण अफ्रिका)को आर्थिक सहयोगमा तालिम प्रदान गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यसैबीच, क्लबले नयाँ सदस्यलाई स्वागत गरेको छ । लायन्समा प्रवेश गरका सदस्यलाई खादा तथा माला लगाएर स्वागत गरिएको हो । क्लबले स्थापनाको छोटो समयमै उल्लेख्य सामाजिक कार्य गर्दै आएको अध्यक्ष श्रीसले बताउनुभयो ।

Advertisment