महाधिवेशनको तयारीमा जुट्यो मगर संघ, महाधिवेशन आयोजक समिति गठन

काठमाडौं, २४ कात्तिक
नेपाल मगर संघ आफ्नो १२ औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । संघको भर्चुअल बैठकले आगामी फागुन १५ गतेदेखि १८ गतेसम्म मगरात (लुम्बिनी) प्रदेशको रोल्पामा हुने महाधिवेशनको मूल आयोजक समिति समेत गठन गरेको छ ।
अध्यक्ष नवीन रोकाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको महासचिव ज्ञानेन्द्र पुनले जानकारी दिनुभयो । पुनका अनुसार मूल आयोजक समितिमा केन्द्रीय समितिका सबै पदाधिकारीहरु, सदस्यहरु, भातृसस्थाको अध्यक्षहरु, वैदेशिक शाखाको अध्यक्षहरु, प्रदेश समितिको अध्यक्षहरु र जिल्ला समितिको अध्यक्षहरु सदस्य रहने छन् ।
यस महाधिवेशनको सम्पूर्ण व्यवस्थापन गर्नका लागि नेपाल मगर संघ प्रदेश नं.५ (मगरात–लुम्बिनी प्रदेश) इञ्चार्ज तथा केन्द्रीय सदस्य धनबहादुर पुनमगरको संयोजकत्वमा सबै प्रदेशको इञ्चार्जहरु सहसंयोजक रहने, मगरात–लुम्बिनी प्रदेश भित्रका सबै केन्द्रीय सदस्यहरु, भातृसंस्थाको केन्द्रीय अध्यक्षहरु सदस्य रहने गरि मगरात–लुम्बिनी प्रदेशको अध्यक्ष बिमल सारुमगर सदस्य सचिव रहने र रोल्पा जिल्लाको अध्यक्ष कुम पुनमगर व्यवस्थापन सचिवालयको कार्यालय प्रमुख रहने र मगरात–लुम्बिनी प्रदेश भित्रका १२ वटै जिल्लाको अध्यक्षहरु सदस्य रहने गरि मूल व्यवस्थापन समिति गठन गरिएको छ । त्यसैगरी, समितिले आवश्यकता बमोजिम विभिन्न उपसमितिहरु (खाद्य व्यवस्थापन, आवास व्यवस्थापन, ¥याली व्यवस्थापन आदि) गठन गरि व्यवस्थापकीय कार्य गर्ने गरि अख्तियारी दिने निर्णय समेत गरिएको जनाइएको छ । व्यवस्थापन सम्बन्धी कार्य गर्न र सम्पूर्ण तयारीका लागि सचिवालयको सम्पर्क कार्यालय रोल्पा लिबाङमा स्थापना गरि सुचारु गर्ने निर्णय गरिएको बताइएको छ ।
त्यस्तै, बैठकले कोषाध्यक्ष कमला थापाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, केन्द्रीय संगठन सचिव जगतबहादुर रेश्मीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, अध्यक्ष नवीन रोकाको संयोजकत्वमा भावी कार्यदिशा तथा प्रतिवेदन तयारी समिति, महासचिव ज्ञानेन्द्र पुनको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति गठन गरेको छ । संघका विदेश सचिव रक्षबहादुर रैकाको संयोजकत्वमा विधान संशोधन मस्यौदा तयारी समिति, कोषाध्यक्ष कमला थापाको संयोजकत्वमा आर्थिक प्रतिवेदन तयारी समिति, भाषिक उपाध्यक्षत्रय दलबहादुर वीरकट्टा, पूर्णबहादुर घर्ती र भीम रोकायको संयोजकत्वमा भाषा तथा लिपि प्रतिवेदन तयारी समिति, उपाध्यक्ष गंगा खासुको संयोजकत्वमा अतिथि सत्कार समिति, सञ्चार सचिव खड्ग बुढाको संयोजकत्वमा प्रचारप्रसार तथा प्रकाशन समिति, केन्द्रीय सदस्य एवं युवा इञ्चार्ज अशोक सारूको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै, महाधिवेशनको निर्वाचन प्रक्रिया तथा बन्दसत्र सञ्चालनका लागि संघका संस्थापक महासचिव सुरेश आलेको संयोजकत्वमा अध्यक्ष मण्डल तथा निर्वाचन समिति गठन गरिएको छ ।
त्यसैगरी, संघको १२ औं राष्ट्रिय महाधिवेशन हुनु अगावै संघको विधानत कार्यकाल सकिएका समितिहरुले कोरोना महामारीको प्रभावलाई मध्येनजर गरि सामाजिक दुरी र भौतिक दुरी कायम गरि अधिवेशन गर्नुपर्ने निर्णय गरिएको छ । नेपाल मगर संघको गाउँपालिका÷नगरपालिका अधिवेशन २०७७ मंसिर मसान्त भित्र, जिल्ला अधिवेशन २०७७ पौष मसान्त भित्र, प्रदेश अधिवेशन २०७७ माघ मसान्त भित्र, त्यसैगरि विधानत कार्यकाल पुरा भएका संघको भात्री सस्था र विदेश शाखाहरुको महाधिवेशन २०७७ माघ मसान्त भित्र गर्नुपर्ने निर्णय गरिएको छ ।

Advertisment