तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर गुरुङ निर्वाचित

पोखरा, ६ कात्तिक
तमु धिं नेपालको ३६ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशनबाट अध्यक्ष पदमा हुमबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सु.मे. श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्षमा गिमाया गुरुङ, द्वितीय उपाध्यक्षमा नारायण गुरुङ, महासचिवमा अधिवक्ता जुनाकुमारी गुरुङ, सचिवमा जुमकाजी गुरुङ, सहसचिवमा मेनकाजी गुरुङ, कोषाध्यक्षमा गमबहादुर गुरुङ र सहकोषाध्यक्षमा सु. तुलबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।


नवनिर्वाचित पदाधिकारीलाई तमु धिं नेपालको विधान अनुसार बिहीबार सपथ ग्रहणसँगै पदबहाली समेत गराइएको छ । तमु धिं नेपालको महाधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाइएको थियो । प्रमुख निर्वाचन अधिकृत गुरुङले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउनुभएको हो । सो महाधिवेशनले विधान संशोधन उपसमिति संयोजक अधिवक्ता जुनाकुमारी गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव, महासचिव गिरीप्रसाद गुरुङले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सु.मे. श्रीप्रसाद गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।


नवनिर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिँदै तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म गुरुङले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । नवनिर्वाचित अध्यक्षले कार्यवाहक नेतृत्व पाउँदा समेत आफूलाई प्रमाणित गरेको भन्दै उहाँले नवनिर्वाचित अध्यक्ष हुमबहादुर गुरुङलाई आफूले पहिलेदेखि नै आफ्नो उत्तराधिकारीका रुपमा लिएको उल्लेख गर्नुभयो । नयाँ नेतृत्वलाई सल्लाहकार समितिको अध्यक्षका हैसियतले सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दै संस्थापक अध्यक्ष गुरुङले तमु धिं नेपाल तमु जातिको मात्र नभइ सबै नेपालीको आशा भरोसाको केन्द्र बनेको दाबी गर्नुभयो ।


सपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष हुमबहादुर गुरुङले तमु जातिलाई एकताबद्ध बनाएर आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तमु (गुरुङ) समुदायलाई मूलबाटोमा हिँडाउनुपर्ने बताउँदै उहाँले जातीय पहिचान र अधिकारका लागि दबाबमूलक अभियानलाई निरन्तर जोड दिने प्रण समेत गर्नुभयो । आफूले संगठन विस्तारमा ध्यान दिने बताउँदै नवनिर्वाचित अध्यक्ष गुरुङले देशव्यापी संगठन विस्तारमा आफूले विशेष ध्यान दिने बताउनुभयो ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका निवर्तमान प्रथम उपाध्यक्ष सरस्वती गुरुङले स्वागत गर्नुभएको थियो भने समाजसेवी मे. दिलबहादुर गुरुङ, महासचिव गिरीप्रसाद गुरुङ, फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरलगायतले नयाँ नेतृत्वलाई मन्तव्यमार्फत् बधाई एवं शुभकामना दिनुभएको थियो ।

Advertisment