केम्पो खुकुरी मार्शल आर्टस् संघको अध्यक्षमा पुनः पाण्डे

काठमाडौं, २३ असोज
नेपाल केम्पो खुकुरी मार्शल आर्टस् संघको अध्यक्षमा पुनः पूर्णप्रसाद पाण्डे निर्विरोध चयन हुनुभएको छ ।
संघको शुक्रबार काठमाडौंमा सम्पन्न चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बज्रध्वज वाइबा, उपाध्यक्षहरूमा विष्णु ढकाल, दिलमाया गुरुङ, दिलबहादुर लामा र ज्ञानेन्द्र आचार्य, महासचिवमा सुजन राई, सचिवमा सुरेन्द्र गुरुङ र कोषाध्यक्षमा नकुल चौलागाईं निर्विरोध चयन हुनुभयो । त्यसैगरी, केन्द्रीय सदस्यहरूमा राजकुमार पाण्डे, संगम वाइबा, सञ्जीवबहादुर सिंह, विमल सुनार कार्की, सन्तोषी श्रेष्ठ, जनार्दन अधिकारी, विजय तिमिल्सिना, उमा थपलिया, देवराज वाइबा र मैयाँ नेपाल चयन हुनुभएको छ ।
यसअघि, महाधिवेशनको उद्घाटन गर्दैै पूर्व स्थानीय विकास मन्त्री एवं बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले मानिस स्वस्थ हुनका लागि खेलकुद अति जरुरी रहेको बताउनुभयो । स्वस्थ मानिसले मात्रै खेलकुदमा भाग लिन सक्ने बताउँदै पूर्व मन्त्री पाण्डेले स्वास्थ्य र खेलकुद एक आपसमा अति महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
पूर्व मन्त्री पाण्डेले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएर मात्रै स्थापित नहुने भन्दै केम्पो खुकुरी मार्शल आर्टस्का माध्यमबाट नेपाललाई विदेशमा चिनाउन सक्नुपर्ने भनाइ राख्नुभयो । केम्पो खुकुरी मार्शल आर्टलाई देशलाई पदक दिलाउने खेलका रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले खेलाडी उत्पादनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले खुकुरी आफैंमा नेपाली पहिचान रहेको भन्दै केम्पो खुकुरी मार्शल आर्टले देशको चिनारी गराउन सक्ने बताउनुभयो । धेरै भन्दा धेरै खेलाडी उत्पादन गरेर देशलाई पदक दिलाउन संघले भूमिका खेल्नुपर्ने बताउँदै प्रदेशसभा सदस्य विष्टले देशव्यापी संगठन विस्तार गरेर प्रशिक्षण अभियान चलाउन सुझाव दिनुभयो ।
संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिलमाया गुरुङले स्वागत र केन्द्रीय सदस्य सुरेन्द्र गुरुङले सञ्चालन गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष पाण्डेले विषम परिस्थितिका कारण भव्य रुपमा कार्यक्रम गर्न नसकिएपनि समयमै साधारणसभा सक्नुपर्ने बाध्यताका कारण कार्यक्रम गर्नुपरेको बताउनुभयो ।

Advertisment