मादी गाउँपालिकाको प्रवक्ता बने वडाध्यक्ष गुरुङ

पोखरा, २२ असोज
कास्कीको मादी गाउँपालिकाको प्रवक्तामा वडा नं. ७ का वडाध्यक्ष लालबहादुर गुरुङ चयन हुनुभएको छ । गाउँ कार्यपालिकाको ५४ औं बैठकले गुरुङलाई गाउँपालिकाको प्रवक्तामा चयन गरेको हो । कार्यपालिका बैठकले गुरुङलाई प्रवक्ता चयन गर्नेलगायत २१ वटा निर्णय गरेको छ ।
बैठकले कृषिमा उत्पादन बढाउन तरकारीको बेर्नाका लागि एक वडा, एक नर्सरी स्थापना गर्ने, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र सम्पूर्ण खर तथा फुसको छानो हटाइ जस्तापाता उपलब्ध गराउने, सम्पूर्ण वडा कार्यालयले १० दिनभित्र खरका छाना भएका विवरण संकलन गरी पठाउने, त्यस्ता प्रत्येक घरले ५० हजार नगद पाउने निर्णय गरेको छ । त्यस्तै, याङ्जाकोट, तोगी, वार्चोक, भाचोक, नागीधार, पोशी, पक्र्यु मोटरबाटोको वातावरणीय प्रभाव मूल्यांकन तयार गर्ने, कसेरी, भैंसे, याङ्जाकोट मोटरबाटो निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई विजयपुर खोलाको मादी गाउँपालिका खण्डबाट नियम अनुसार रोयल्टी लिइ गिटी बालुवा उपलब्ध गराउने, एक गाउँपालिका, एक खेलकुद ग्रामका लागि भगवतीटार आसपासमा उपयुक्त स्थलमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने बैठकले निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी, सो बैठकले मादी गाउँपालिका–३, याङ्जाकोटको सामुदायिक विद्युत उपभोक्ता समितिलाई नयाँ ट्रान्सफरमर उपलब्ध गराउने, बुद्ध पोखरी मर्मत गर्ने, करार सेवामा विद्यालयको शिक्षक, कर्मचारी भर्ना छनौटसम्बन्धी कार्यविधि–२०७७ पारित, कोरोना भाइरसबाट पालिकाबासीलाई सुरक्षित राख्न सम्पूर्ण उपाय अवलम्बन गर्दै कोभिड अस्पताल थप व्यवस्थापन गर्ने र डाक्टर, नर्स, कर्मचारी नियुक्ति गर्ने, वडा नं. ४ को वडा कार्यालय भवन कात्तिक १ गते उद्घाटन गर्ने, नेपाल रेडक्रस सोसाइटी, कास्कीको निर्माणाधीन ब्लड बैंक भवनका लागि पाँच लाख रुपैयाँ अनुदान दिने, मानवसेवा आश्रम, कास्कीलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकामा करारमा कृषिको चौथो र पाँचौं तहको कर्मचारीका लागि विज्ञापन आह्वान गर्ने, नियमानुसार पाउने सामाजिक सुरक्षा भत्ता दशैं अगाडि उपलब्ध गराउने, गाउँपालिका, निजी क्षेत्र र सम्पूर्ण गाउँपालिकाभरिका घरधुरीबाट शेयर हुने गरी क्रसर उद्योग स्थापनाको सम्भावनाबारे कार्यदलबाट अध्ययन गर्ने र पशुपालक तथा कृषकहरू लक्षित गरी कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्रलगायतबाट प्रस्तावना भएका सेवा सुविधा तालिम आदि सूचनाहरू लाभग्राहीसम्म पु¥याउन सहजीकरण गर्ने बैठकले निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

Advertisment