पहिलो कञ्चन पत्रकारिता पुरस्कार कास्कीका थापा र बागलुङका राजभण्डारीलाई

पोखरा, २५ साउन
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशद्वारा सञ्चालित “कञ्चन पत्रकारिता पुरस्कार–२०७७”बाट कास्कीका अग्रज पत्रकार रूद्रबहादुर थापा र बागलुङका अग्रज पत्रकार राजेशचन्द्र राजभण्डारी पुरस्कृत हुनुहुने भएको छ ।
फोनिज, गण्डकी प्रदेशले नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनौट समितिले सिफारिस गरे बमोजिम पत्रकारद्वय थापा र राजभण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष एमबी आस्था मगरले जानकारी दिनुभयो । प्रतिभा छनौट समितिका सदस्यहरूमा फोनिज, गण्डकी प्रदेशका इञ्चार्ज हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ति गुरुङ, फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगर र महासचिव रूद्रबहादुर श्रीसमगर रहनुभएको थियो ।
व्यवसायी एवं समाजसेवी विमलमान गुभाजू तथा परिवारद्वारा उहाँका माता पिता स्व. वेदमान गुभाजू र स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित सो पुरस्कारबाट जनही २५ हजार रुपैयाँ नगद तथा ताम्रपत्रसहित फेवा पोष्ट साप्ताहिकका प्रबन्ध सम्पादक थापा र एभिन्यूज टेलिभिजनमा कार्यरत राजभण्डारी पुरस्कृत हुन लाग्नुभएको हो । पत्रकार थापा विगत ३५ वर्षदेखि र राजभण्डारी ३२ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील हुनुहुन्छ । पहिलोपटक प्रदान गर्न लागिएको सो पुरस्कारका लागि गुभाजू परिवारले ६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
अक्षयकोषको रकमबाट आउने ब्याजमार्फत् हरेक वर्ष गण्डकी प्रदेशभित्रका एक जना क्रियाशील र एक जना आदिवासी जनजाति संस्कृति प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान दिने आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गर्ने गरी गुभाजू परिवारले अक्षयकोषको स्थापना गरेको फोनिज, गण्डकी प्रदेशका अध्यक्ष मगरले बताउनुभयो । सो पुरस्कार यही साउन २७ गते फोनिजको २१ औं स्थापना दिवसका अवसरमा प्रदान गरिने जनाइएको छ ।

Advertisment