‘स्मृतिमा श्रीमान थुलुङ’ स्मृति ग्रन्थ विमोचित

पोखरा, ८ साउन
गायक, संगीतकार एवं गीतकार श्रीमान थुलुङको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थको बुधबार विमोचन गरिएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्तले “स्मृतिमा श्रीमान थुलुङ” नाम सो स्मृति ग्रन्थको विमोचन गर्नुभयो । स्मृति ग्रन्थको विमोचन गर्दै सरुभक्तले स्मृति ग्रन्थले श्रीमान थुलुङको सम्झना गराइरहने बताउनुभयो ।
गायक श्रीमान थुलुङलाई चिर स्थायी बनाउन स्मृति ग्रन्थको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले परिवारको सक्रियता र सहयोगी मनहरूको सहकार्यमा अक्षयकोष स्थापना गरी संगीत क्षेत्रका प्रतिभालाई सम्मानको थालनी गर्न लागिएकामा खुशी व्यक्त गर्नुभयो । सरुभक्तले अक्षयकोषका लागि आफूले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं कास्कीका सह–इञ्चार्ज श्रीनाथ बरालले श्रीमान थुलुङले जति जीवन बाँच्नुभयो, त्यति सार्थक जीवन बाँच्नुभएको बताउनुभयो । श्रीमान थुलुङका सपना पूरा गर्न बाँचेकाहरूले विशेष काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
पूर्वाञ्चल सेवा समाज, कास्कीका अध्यक्ष गोपाल खड्काले श्रीमान थुलुङ सबैसँग मिल्न सक्ने मिलनसार व्यक्तित्व भएको बताउँदै उहाँले सञ्चालन गरेको तराना म्यूजिक सेन्टरलाई संगीत शिक्षालयका रुपमा विकास गर्न सके सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो ।
स्मृतिमा श्रीमान थुलुङ स्मृति ग्रन्थ प्रकाशन समितिका संयोजक डीबी राईको अध्यक्षतामा भएको विमोचन समारोहमा अनुज कुलुङले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा किरात सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र राई, संरक्षक डा. लक्ष्मीप्रसाद राई, त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक नवराज बराल, प्रकाशन समितिका सम्पादक अनुराग अधिकारी, रुपिन्द्र प्रभावीलगायतले थुलुङको व्यक्तित्वका बारेमा बोलेका थिए । सो अवसरमा स्मृति राई, संगीता राई र उमेश राईले थुलुङको सम्झनामा गीत सुनाए ।
थुलुङको २०७५ साल चैत्र २८ गते अकल्पनीय दुर्घटनामा परी निधन भएको थियो । उहाँको प्रथम स्मृति दिवसको अवसरमा विमोचन गर्ने तयारी गरिएको भए पनि विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण स्मृति दिवसको दिनमा विमोचन हुन सकेन । तर, बुधबार थुलुङको ५५ औं जन्म जयन्तीको अवसर पारेर स्मृति ग्रन्थ विमोचन गरिएको प्रकाशन समितिका संयोजक राईले प्रष्ट पार्नुभयो ।
स्मृति ग्रन्थ बिक्रीबाट आएको रकमबाट श्रीमान थुलुङको सम्झनामा अक्षयकोष स्थापना गरी हरेक वर्ष सङ्गीतको क्षेत्रमा अगाडि बढ्ने सङ्गीतकर्मीलाई सम्मान गरिने राईले जानकारी दिनुभयो । स्मृति ग्रन्थको प्रकाशक तराना म्यूजिक सेन्टर र संरक्षक थुलुङकी श्रीमती विमला राई रहनुभएको छ । स्मृति ग्रन्थमा ४६ शीर्षकमा ४६ जना विभिन्न क्षेत्रका व्यक्तिले श्रीमान थुलुङको बारेमा लेखेका लेख समावेश गरिएको छ ।
जन्मथलो पोखरा नभए पनि कर्मथलो पोखरालाई बनाई थुलुङ साङ्गीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँको जन्म प्रदेश नं. १ को सोलुखुम्बु जिल्लामा भएको हो । २०५० सालमा थुलुङ भाषाको गीत ‘बान्तालङ मेनु ल म्यो दयुखा’मार्फत रेडियो नेपालमा उहाँले स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।
पोखराको सयपत्री सङ्गीत प्रशिक्षण केन्द्रमा ९ वर्ष सङ्गीत प्रशिक्षकको रूपमा काम गरेपछि आफैंले तराना म्यूजिक सेन्टर स्थापना गर्नुभएको थियो । दैनिक रुपमा गायन प्रशिक्षण, तबला, बाँसुरी, गीतार, मादल, ढोलकका नयाँ प्रतिभा पोखरामा उत्पादन गर्न उहाँको महत्वपूर्ण योगदान छ ।

Advertisment