बैंकहरूलाई प्रदेश प्रमुख शेरचनको आग्रह ः उद्योग क्षेत्रमा लगानी गर्नुस्

पोखरा, २१ असार
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा लगानी गर्न बैंकहरूलाई आग्रह गर्नुभएको छ ।
मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात आइतबार एकीकृत कारोबार शुभारम्भ गर्दै प्रदेश प्रमुख शेरचनले नेपालमै उत्पादित कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गर्न सके मात्र नेपालको अर्थतन्त्र बलियो बनाउन सकिने धारणा राख्नुभयो । राष्ट्रिय उद्योगको स्थापनामार्फत रोजगारी सिर्जना गर्न सके मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउँदै बैंक तथा वित्तीय क्षेत्रले उद्योग क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।


देशमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न र विपन्न वर्गको आर्थिक स्तर उकास्ने खालका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले विदेशी सामान आयात गरेर बेचेर मात्रै देशको समृद्धि नहुने उल्लेख गर्नुभयो । रोजगारमुखी अर्थतन्त्रको विकास गरेर मात्र देशलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले खनिज पदार्थको उत्खनन र खनिजमा आधारित उद्योग स्थापनामा समेत लगानी गर्न बैंकहरूलाई आग्रह गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले खराब कर्जाका कारण बैंक तथा वित्तीय संस्थाहरू टाट पल्टिएका उदाहरण समेत भएको भन्दै हालै एकीकृत कारोबार शुभारम्भ गरेको मेगा बैंकले राष्ट्र बैंकको नीति अनुसार वित्तीय कारोबार सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बिग मर्जरलाई प्रोत्साहित गर्ने नीति ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । मेगा बैंकले मर्जर प्रक्रियालाई कुशलतापूर्वक सम्पन्न गरेको भन्दै सांसद् थापाले कोरोना भाइरसको महामारीले समस्यामा पारेका बेला बैंकर र व्यवसायीहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामा बैंकहरूले व्यवसायीहरूलाई कालो सूचीमा राख्ने र धितो लीलामीमार्फत् मात्रै असुलउपर गर्न सक्ने अवस्था नरहेको भन्दै थापाले व्यवसायीहरूलाई पनि बचाउने र बैंक पनि बाँच्ने हिसाबले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोरोना भाइरसको महामारीका कारण पोखराले गएको तीन महिनामा मात्रै १६ अर्ब बराबरको नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै पर्यटन क्षेत्रले मात्रै ७ अर्ब बराबरको नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । प्रमुख जिसीले मेगा बैंक पूँजीले मात्र नभइ कामले समेत उत्कृष्ट बैंक बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै बैंकले पोखरेलीको विश्वास जित्न सक्नेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो । अहिलेको चुनौती सामना गर्न सक्ने व्यवसायी वा बैंकर नै सफल व्यवसायी र सफल बैंकर बन्न सक्ने उहाँको भनाइ छ । कोरोना भाइरस महामारीका कारण धेरै मानिस विचलित बन्दै गइरहेको उल्लेख गर्दै उहाँले कोरोना अस्पताल भन्दापनि मानसिक अस्पताल बनाउनुपर्ने स्थिति आएको बताउनुभयो ।


कार्यक्रममा साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचन, संयुक्त प्राप्ति समिति तथा मेगा बैंकका सञ्चालक मदनकुमार आचार्य, साबिक गण्डकी विकास बैंकका मर्जर कमिटीका संयोजक पद्मप्रसाद पौडेल, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलगायतले बोल्नुभएको थियो ।
एकीकृत भएपछि मेगा बैंकको देशभर २ सय ६ शाखा पुगेको छ । बैंकको चुक्ता पूँजी १३ अर्ब पुगेको छ भने कुल निक्षेप १ खर्ब २५ अर्ब पुगेको बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले जानकारी दिनुभयो । सो अवसरमा गण्डकी विकास बैंकका पूर्वअध्यक्ष तथा सञ्चालकहरूलाई सम्मान समेत गरिएको थियो ।

Advertisment