लोकदोहोरी विकास बोर्ड गठन गर्न प्रतिष्ठान, गण्डकीको माग

पोखरा, १८ असार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशले नेपालको सांस्कृतिक विविधता जोगाउन र विकृति, विसंगति रोक्न लोकदोहोरी विकास बोर्ड गठनको माग गरेको छ ।
प्रतिष्ठान, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले बिहीबार एक विज्ञप्ति जारी गर्दै बोर्ड गठनको माग गर्नुभएको हो । लोकसंस्कृतिको संरक्षणका साथै, अग्रज कलाकारको सम्मान र नवोदित कलाकारको प्रोत्साहन गर्दै प्रतिष्ठान अघि बढिरहेको भन्दै अध्यक्ष गुरुङले गीतसंगीत क्षेत्रमा विकृति बढिरहेकोप्रति चिन्ता व्यक्त समेत गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “लोकदोहोरी विकास बोर्ड गठन नहुँदा गीतसंगीतको सही सेन्सर हुन सकेको छैन । मौलिकता बोकेका चाडपर्वमा प्रस्तुत छाडा एवं भद्दा प्रस्तुतीले हाम्रो मौलिकतामाथि कुठाराघात गरिरहेका छन् ।”
विज्ञप्तिमार्फत् अध्यक्ष गुरुङले क्षणिक चर्चा, सस्तो लोकप्रियता र व्यवसायिक लाभका लागि अराजक एवं छाडा प्रवृत्ति अवलम्बन नगर्न सम्पूर्ण कलाकारहरूलाई अनुरोध गर्नुभएको छ । कलाकारहरूको असजिलो र अप्ठ्यारोमा प्रतिष्ठानले सधैं अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेको भन्दै उहाँले नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु प्रतिष्ठान र कलाकारको दायित्व भएको बताउनुभएको छ । विभिन्न पहिचान बोकेका चाडपर्वको मौलिकता र मौलिक गीतसंगीतलाई जोगाउन राज्यले यथासक्य चाँडो लोकदोहोरी विकास बोर्डको गठन गर्नुपर्ने माग समेत विज्ञप्तिमार्फत गरिएको छ ।

Advertisment