मातृभाषामा शिक्षा तथा भाषा संरक्षणका लागि सर्वपक्षीय समझदारी

काठमाडौं, १२ असार
मातृभाषा शिक्षा तथा भाषा संरक्षणका लागि स्थानीय तहसहितको सर्वपक्षीय समझदारी भएको छ । यो समझदारी मातृभाषा शिक्षा र भाषा संरक्षणका लागि ऐतिहासिक कदमका रुपमा लिइएको छ । कोरोना महामारीका कारण बन्दाबन्दीकै बेला भएको भर्जुअल बैठकमा यस्तो सहकार्य र समझदारी भएको हो ।
नेपालको संविधानले प्रत्याभूत गरेको मातृभाषामा शिक्षासम्बन्धी प्रावधानहरूको कार्यान्वयन र भाषाहरूको संरक्षण, सम्वद्र्धन र विकासका लागि स्थानीय सरकारको भूमिकाबारे बहुभाषिकताका क्षेत्रसित आबद्ध सबै क्षेत्रलाई समेटेर बैठक आयोजना गरिएको थियो ।
सो बैठकमा भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान (मातृभाषा विभाग), आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नगरपालिका संघ नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल शिक्षक महासंघलगायत विभिन्न सरोकारवाला संघसंस्थाका पदाधिकारी एवम् प्रबुद्ध व्यक्तिहरूको उपस्थिति थियो । असार ३ गतेका दिन कोरोना माहामारीबाट सिर्जना भएको प्रतिकूल परिस्थितिमा पनि ऐक्यबद्धता प्रकट गर्दै भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा बैठक बसेको थियो ।

Advertisment