द्वा कम्प्लेक्सद्वारा चैत महिनाको भाडामा ५० प्रतिशत छुट घोषणा

पोखरा, ९ चैत्र
पोखराको चिप्लेढुंगास्थित व्यापारिक भवन द्वा कम्प्लेक्सले चैत महिनाको भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
विश्वभर नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायी मर्कामा परेको भन्दै द्वा कम्प्लेक्सले छुट दिने घोषणा गरेको हो । कोरोना संक्रमणको जोखिममा नेपाल समेत रहेको र सरकारले कोरोना संक्रमण रोक्नका लागि गरेको पहललाई साथ दिँदै आफूहरूले यस्तो निर्णय गरेका द्वा कम्प्लेक्सका सञ्चालकद्वय नवीनकुमार द्वा र श्रवणकुमार द्वाले जानकारी दिनुभयो ।
द्वा कम्प्लेक्समा ७० वटा सटर भाडामा रहेका छन् । भाडादरमा ५० प्रतिशत छुटको निर्णयले आफूहरूलाई धेरै राहत मिलेको भन्दै द्वा कम्प्लेक्सका व्यवसायीहरूले सञ्चालकलाई धन्यवाद दिएका छन् । कोरोना भाइरसका कारण व्यवसायी मर्कामा परेको अवस्थामा यस्तो निर्णय आउनु खुशीको कुरा भएको द्वा कम्प्लेक्समा शोपाहोलिक फेशन वेयर सञ्चालन गर्दै आएकी व्यवसायी काशी गुरुङले बताउनुभयो । महिला उद्यमी संघ नेपाल, कास्कीकी अध्यक्ष समेत रहनुभएकी गुरुङले यसरी नै अरु घरबेटीले पनि छुट दिएर व्यवसायीको मर्कालाई बुझिदिन अपिल गर्नुभयो ।

Advertisment