विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

पोखरा, ४ माघ
होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान बनाएका खगेन्द्र थापामगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउँसो मणिपाल शिक्षण अस्पताल, पोखरामा निधन भएको हो ।
स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई बिहीबार मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू)मा भर्ना भएका थापामगरलाई शुक्रबार दिउँसो करिब ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानामगरले बताउनुभयो ।
खगेन्द्रको निमोनियाका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ । खगेन्द्रमा यसअघि श्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिँदै आएका थिए ।
बागलुङको बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोट, उर्लेनीमा जन्मिएका खगेन्द्र थापामगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इञ्च उचाइ रहेका थापामगरलाई वल्र्ड रेकर्डस् टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिँदै मेडल पहिराएको थियो । गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारण छ महिनापछि मात्र उनको रेकर्ड आधिकारिक रुपमा प्रमाणित गरिएको थियो ।
खगेन्द्र पोखराको सृजनाचोकमा बस्दै आएका थिए । रूपबहादुर थापामगर र धनमाया थापामगरका पुत्रका रुपमा खगेन्द्रको बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोट, उर्लेनीमा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्मिदा खगेन्द्र मात्र ६०० ग्रामका थिए । पछिल्लो समय उनको वजन ५.५ किलोग्राम मात्र रहेको थियो ।
खगेन्द्रको आज शवयात्रासहित पोखराको रामघाटमा अन्त्येष्टि गरिने उनको परिवारले जनाएको छ । यसैबीच, खगेन्द्रको निधन भएकोमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ ।

Advertisment