छैठौं स्याङ्जा महोत्सव पुस ४ गतेदेखि

स्याङ्जा, ३ मंसिर
गण्डकी प्रदेशस्तरीय औद्योगिक, कृषि, पर्यटन तथा व्यापार मेला एवं छैठौं स्याङ्जा महोत्सव–२०७६ आगामी पुस ४ गतेदेखि हुने भएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुने भएको हो । “स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार” भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा ८ करोड रुपैयाँसम्मको व्यापारिक कारोबार र ३ लाख ५० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य लिइएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पुतलीबजार नगरपालिका वडा नं. १, मालेबगरस्थित श्रवणकुमार खेल मैदानमा हुने महोत्सवले स्याङ्जालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, औद्योगिक उत्पादन एवं स्थानीय कृषि तथा वनजन्य उत्पादनको बजार प्रवद्र्धन गरी स्थानीय आर्थिक विकासमा सघाउ पु¥याउने संयोजक श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । श्रेष्ठका अनुसार महोत्सवका मुख्य आकर्षणहरूमा बाल उद्यान, औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, लोक तथा दोहोरी गीत प्रतियोगिता, ख्यातीप्राप्त राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुती, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रर्दशनीलगायत रहेका छन् ।
त्यस्तै, महोत्सवमा ताजा तरकारी प्रदर्शनी, माछा महोत्सव, पशुपंक्षी प्रदर्शनी तथा बिक्री कक्ष, अगुवा कृषक तथा कृषि विशेषज्ञबीचको अन्तरक्रिया कार्यक्रम, सूचना प्रविधि तथा शैक्षिक सामग्री प्रदर्शनी, अटोमोबाइल, पर्यटन मेला तथा फोटो प्रदर्शनी, हस्तकला प्रदर्शनीलगायत रहने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न प्रकृतिका २ सय स्टल रहने र सूचना प्रविधि प्रदर्शनीका लागि डोमको व्यवस्था गरिएको संघका प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा रहने २०० स्टलमध्ये २० वटा स्टल कृषि तथा घरेलु उत्पादनलाई बढावा दिने गरी निःशुल्क रुपमा उपलब्ध गराइने संघका द्वितीय उपाध्यक्ष महादेव श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवबाट १ करोड १५ लाख १० हजार रुपैयाँ आम्दानी गर्ने र महोत्सव अवधिमा ६५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको श्रेष्ठले बताउनुभयो । साथै, महोत्सवबाट ४९ लाख ६० हजार रुपैयाँ बचत गर्ने अपेक्षा गरेको आयोजकले जनाएको छ । महोत्सवमा प्रवेशका लागि साधारण टिकट दर ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ राखिएको छ भने व्यक्तिगत स्थायी पासका लागि ५ सय रुपैयाँ शुल्क राखिएको संघका महासचिव भीमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवको आयोजकका रुपमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघसहित नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश रहेका छन् भने मुख्य सहयोगीका रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र, जिल्ला समन्वय समिति, स्याङ्जा, पुतलीबजार नगरपालिका र स्याङ्जाका स्थानीय तहहरू रहेका छन् । महोत्सवको प्रवद्र्धकका रुपमा नेपाल भ्रमण वर्ष २०२० रहेको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ, स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले महोत्सवलाई सफल बनाउन पत्रकारहरूले पनि आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Advertisment