मृगौलापीडित श्रीसलाई बेलायतमा संकलित १ लाख ७० हजार सहयोग

पोखरा, १ मंसिर
दुवै मृगौला खराब भइ उपचाररत बागलुङको गलकोट नगरपालिका वडा नं. २, नरेठाँटी, घसघसाका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई बेलायतमा संकलित १ लाख ७० हजार ५ सय रुपैयाँ नगद सहयोग गरिएको छ ।
बागलुङ समाज, बेलायतकी अध्यक्ष छविमाया पुनको पहलमा संकलित सो रकम गलकोट नगरपालिका वडा नं. २, नरेठाँटी, घसघसा घर भइ हालः बेलायतनिवासी मेजर देवबहादुर पुनले सो सहयोग रकम मृगौलापीडित श्रीसलाई हस्तान्तरण गर्नुभयो ।
बेलायतमा संकलित सो रकम मेजर पुनले बागलुङ–पोखरा मगर समाजद्वारा आयोजित विशेष कार्यक्रममा मृगौलापीडित श्रीसलाई हस्तान्तरण गर्नुभएको हो । मेजर पुनसहित बागलुङ–पोखरा मगर समाजका अध्यक्ष रामबहादुर पुनले संयुक्त रुपमा सो सहयोग रकम मृगौलापीडित श्रीसलाई हस्तान्तरण गर्नुभएको हो ।


मृगौलापीडित श्रीसलाई संकलित सहयोग रकम हस्तान्तरण गर्दै उपचारमा सहयोग गर्न बागलुङ समाज, बेलायतकी अध्यक्ष छविमाया पुनको तर्फबाट रकम हस्तान्तरण गरेको मेजर पुनले बताउनुभयो । श्रीसको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मेजर पुनले श्रीसको उपचारका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । मृगौलापीडित श्रीसले मेजर पुनलगायत बागलुङ समाज, बेलायत तथा बेलायतबासी नेपालीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै आफूले आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेको भन्दै अझै पनि आफूलाई सहयोगको खाँचो रहेको बताउनुभयो ।
वैदेशिक रोजगारीका शिलशिलामा संयुक्त अरब इमिरेट्सको दुबईमा सात वर्ष कार्यरत मृगौलापीडित श्रीस बिरामी भएपछि स्वदेश फर्कनुभएको थियो । नेपाल आएर स्वास्थ्य परीक्षण गरेपछि दुवै मृगौला फेल भएको पत्ता लागेको उहाँले जानकारी दिनुभयो । सुरुमा काठमाडौंको निदान अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात उपचार सुरु गरेको र पछि वीर अस्पतालमा डाइलासिस सुरु गरेको मृगौलापीडित श्रीसले बताउनुभयो । हालः पोखराको लेकसिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित डाइलासिस गराइरहनुभएका उहाँले मृगौला प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको उल्लेख गर्नुभयो ।
यसअघि, बेलायतबाटै १ लाख ५० हजार रुपैयाँ, जापानबाट साढे पाँच लाख रुपैयाँ, दक्षिण कोरियाबाट २ लाख १२ हजार र बागलुङ–पोखरा मगर समाजबाट ४० हजार ५ सय ५ रुपैयाँ सहयोग आएको मृगौलापीडित श्रीसले बताउनुभयो । चिकित्सकले मृगौला प्रत्यारोपणका लागि ३०/४० लाख रुपैयाँ खर्च हुने बताएकोले सहयोग रकम जुटेमा मृगौला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ । हालसम्म सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै उहाँले सहयोगी मनहरूको साथले आफूले नयाँ जीवन पाएको अनुभूति गरेको समेत बताउनुभयो । आर्थिक अभावका कारण नियमित डाइलोसिस र थप उपचारमा समस्या भएकाले सहयोगका लागि उहाँले सबैसँग याचना समेत गर्नुभएको छ ।

Advertisment