४२ लाखको लागतमा शिवशक्ति विश्वकर्मा समाज भवन निर्माण

पोखरा, ३० कात्तिक
४२ लाख रुपैयाँको लागतमा पोखरा महानगरपालिका वडा नं. १३, पाटनबेंशीमा नवनिर्मित शिवशक्ति विश्वकर्मा समाजको भवनको उद्घाटन गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । मादी गाउँपालिकाको सिक्लेस, खिलाङ, चिप्ली, तप्राङ, थाक, याङ्जाकोटलगायत मौजा, पाखुरेकोट र आर्वाबाट पोखरा–१३ लगायतका आसपासमा अस्थायी बसोबास गरि बसेका विश्वकर्मा समुदायले २०७० सालमा शिवशक्ति विश्वकर्मा समाज स्थापना गरि आर्थिक संकलन अभियान सुरु गरेका थिए ।
६६ घरधुरी रहेको यस समाजले सुरुवातमा प्रवेश शुल्क बापत २० हजार रुपैयाँ तोकिएको थियो । हरेक वर्षको देउसीभैलोमा, विवाह, व्रतबन्ध, घर पंैचोमा नाचगान र लाहुरे भागलगायतमा समाज सहभागी भइ आर्थिक संकलन गरिएको थियो। साथमा, विभिन्न संघसंस्था, राजनीतिक दलका नेता, स्थानीय सरकारको सहयोगमा २२०० वर्गफिटमा फैलिएको २ तले भवन निर्माण सम्पन्न भएको हो ।
भवन उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सांसद् दुर्गा विक, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कास्कीका सह–इञ्चार्ज श्रीनाथ बराल, नेपाली कांग्रेस, कास्कीका सभापति कृष्ण केसी, मादी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष लालबहादुर गुरुङ, पोखरा महानगरपालिका वडा नं. १३ का कार्यवाहक वडाध्यक्ष हजि रहिम मुल्ला मियाँ, नेपाल दलित मुक्ति संगठनका भीमबहादुर विश्वकर्मा “क्षितिज”, कर्मचारी युनियन केन्द्रीय कार्यवाहक अध्यक्ष सुरेन्द्र अधिकारी, दलित सामाजिक अभियन्ता तथा नेकपा, कास्की जिल्ला सदस्य चित्रबहादुर विश्वकर्मा, मादी गाउँपालिकाका सामजिक अभियन्ता बालकृष्ण गुरुङ, नेकपा, मादी गाउँपालिका वडा नं. ७ वडा कमिटीका अध्यक्ष शेरबहादुर गुरुङ, विश्वकर्मा समाज नेपालका केन्द्रीय उपाध्यक्ष शाकमान सदाशंकर, विश्वकर्मा समाज साझाका अध्यक्ष गमबहादुर विश्वकर्मा, फूलबारी विश्वकर्मा समाजका अध्यक्ष बिर्खराज बिश्वकर्मालगायतले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भवन उद्घाटन गर्दै मन्त्री विश्वकर्माले नेपालको कानूनमा छुवाछूत र विभेद हटेपनि हाम्रो समाजको कुनाकाप्चामा अझै छुवाछूत जस्तो जघन्य अपराध नहटेको बताउनुभयो । मन्त्री विश्वकर्माले जातीय विभेद हटाउन सबै जनसमुदाय एकताबद्धछ हुन आवश्यक रहेको बताउँदै हिजोका दिनमा एउटा सानो खन्ने खेत समेत किन्न नपाइने समुदायले आज पोखरा जस्तो ठाउँमा शानदार भवन निर्माण गर्नु निकै ठूलो उपलब्धी भएको बताउनुभयो ।
कार्यक्रममा स्थापनादेखि हालसम्मको आयव्यय पनि प्रस्तुत गरिएको थियो । सो अवसरमा चन्द्रमुखी विश्वकर्मा आमा समूह, फूलबारीबाट ५० हजार ५ सय ५ रुपैयाँ र मादी गाउँपालिका वडा नं. ७ स्थायी घर भइ हालः पोखरा–११, रानीपौवानिवासी पूर्णकुमारी गुरुङबाट २१ हजार रुपैयाँ सहयोग संकलन भएको समाजका महासचिव बेलबहादुर विश्वकर्माले जानकारी दिनुभयो । भवन निर्माणका लागि विभिन्न व्यक्ति र संघसंस्थाबाट आर्थिक सहयोग प्राप्त भएको उहाँको भनाइ छ ।
समाजका अध्यक्ष जितबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष बलबहादुर विश्वकर्मा र महासचिव बेलबहादुर विश्वकर्माले पनि बोल्नुभएको थियो ।

Advertisment