गलकोटमा बडा दशैं मेला सुरु, युवाहरू सिर्जनात्मक कार्यमा लाग्नुपर्छ ः उपप्रमुख काउचा

गलकोट, २२ असोज
बागलुङको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरमा बडा दशैं मेला–२०७६ सुरु भएको छ ।
संगम युवा क्लबको ३७ औं वार्षिकोत्सव एवं नेपालीहरुको महान् चाड बडा दशैंको अवसरमा सुरु भएको मेलाको उद्घाटन गर्दै गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले युवाहरू सिर्जनात्मक कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । संगम युवा क्लबले विगतदेखि नै खेल क्षेत्रमा विशेष योगदान गर्दै आएको भन्दै उपप्रमुख काउचाले व्यवसायिक खेलाडी उत्पादनमा क्लबले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
आफू पनि पूर्व भलिबल खेलाडी रहेको स्मरण गर्दै उहाँले खेलकुदको विकासमा समेत नगरपालिकाले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो । गलकोटको विकासमा युवाहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै नगर उपप्रमुख काउचाले संस्कृति संरक्षण र खेलकुदको विकासलाई साथै लिएर अघि बढेकोमा संगम युवा क्लबलाई धन्यवाद समेत दिनुभयो ।
गलकोट नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सु. नरबहादुर खत्रीले वडा नं. ६ लाई नमुना वडाका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको बताउँदै संस्कृतिमा धनी भएजस्तै खेलकुदमा समेत वडा नं. ६ अग्रणी स्थानमा रहेको बताउनुभयो । संगम युवा क्लबले आयोजना गरेको मेलाको अपनत्व वडाले लिएको भन्दै वडाध्यक्ष खत्रीले मेलाका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।
क्लबका अध्यक्ष राजबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव गगन विक र सचिव राजन कार्कीले स्वागत गर्नुभएको थियो । २६ गतेसम्म हुने मेलाका आकर्षणहरूमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता एवं मौलिक लोकसांस्कृतिक प्रतियोगिता रहेका छन् । मेलामा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूको प्रत्यक्ष दोहोरी प्रस्तुती समेत रहेको क्लबका अध्यक्ष राजबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्ष पुनका अनुसार २६ गते हुने समापनलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisment