मगर महिलाको दुई दिने प्रस्ताव लेखन तालिमको समापन

पोखरा, २९ साउन
नेपाल मगर महिला संघ, जिल्ला समन्वय समिति, कास्कीको आयोजनामा मंगलबारदेखि सुरु भएको दुई दिने प्रस्ताव लेखन तालिमको बुधबार समापन गरिएको छ ।
तालिमको समापनका अवसरमा बोल्दै नेपाल मगर महिला संघ, गण्डकी प्रदेशकी कोषाध्यक्ष तुलसी थापामगरले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । त्यस्तै, नेपाल मगर महिला संघ, पोखरा महानगर समितिकी अध्यक्ष ज्योति थापामगरले प्रस्ताव लेखन तालिमले मगर महिलाहरूलाई कार्यक्रम आयोजनाका लागि आर्थिक स्रोत जुटाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिमकी प्रशिक्षार्थी मुनु थापामगरले तालिम आफ्ना लागि फलदायी साबित भएको बताउँदै प्रस्ताव लेखनका बारेमा आफू प्रष्ट भएको धारणा व्यक्त गर्नुभयो । तालिमको समापन गर्दै नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले हरेक एकाइमा कार्यरत मगर महिलाहरूलाई प्रस्ताव लेखनमा पोख्त बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।
त्यसैगरी, सचिव ईश्वरी थापामगरले प्रस्ताव लेखनका लागि अरु कसैको भर पर्नु नपरोस् भनेर यस तालिमको आयोजना गरिएको उल्लेख गर्नुभयो । तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसमगरले कुनै पनि कार्यक्रम वा योजना कार्यान्वयनका लागि प्रस्ताव लेखनको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

Advertisment