कस्केली मगर महिलाका लागि दुई दिने प्रस्ताव लेखन तालिम सुरु

पोखरा, २८ साउन
नेपाल मगर महिला संघ, जिल्ला समन्वय समिति, कास्कीको आयोजनामा दुई दिने प्रस्ताव लेखन तालिम सुरु भएको छ ।
सो तालिमको उद्घाटन गर्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले तालिममार्फत् मगर महिलाहरू आत्मनिर्भर बन्ने दिशामा अग्रसर हुनुपर्ने बताउनुभयो । आयआर्जनमुखी तालिममा जोड दिनुपर्ने बताउँदै उहाँले तालिममा सिकेका कुरालाई व्यवहारतः उतार्न सके तालिमको सार्थकता हुने उल्लेख गर्नुभयो । अध्यक्ष पुनमगरले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै आफैं प्रशिक्षक बनेर हरेक एकाइमा प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै, नेपाल मगर महिला संघ, गण्डकी प्रदेशकी कोषाध्यक्ष तुलसी थापामगरले मगर महिलाहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरू हुनु खुशीको कुरा भएको बताउँदै यस तालिमले मगर महिलाहरूलाई कुनै पनि कार्यक्रमको प्रस्ताव लेखनका लागि अरुको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल मगर महिला संघ, पोखरा महानगर समितिकी अध्यक्ष ज्योति थापामगरले मगर महिलाहरू कुनै पनि विषयमा कमी छैनन् भन्ने प्रमाणित गर्न सक्नुपर्नेमा जोड दिँदै तालिममार्फत् सिकेका कुराहरू व्यवहारमा उतार्दै अरुलाई सिकाउन सक्ने हुनुपर्ने बताउनुभयो ।
नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी थापामगर र उपाध्यक्ष चन्द्रा थापामगरले स्वागत गर्नुभएको थियो । बुधबारसम्म चल्ने तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीसमगरले प्रस्ताव लेखनबारे सहजीकरण गर्नुभएको छ ।

Advertisment