व्यवस्था परिवर्तन भयो, मानसिकता बदलिएन ः महानगर प्रमुख जिसी

पोखरा, २७ साउन
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले देशमा राजनैतिक व्यवस्था परिवर्तन भएपनि देश सञ्चालन गर्नेहरूको मानसिकतामा भने अझै परिवर्तन आउन नसकेको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २० औं स्थापना दिवसका अवसरमा फोनिज, गण्डकी प्रदेश समिति र कास्की जिल्ला शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले नेपालको संविधानले धेरै कुरा समेटेको बताउनुभयो । संविधानमा समेटिएका कुरा राज्य सञ्चालकहरूले व्यवहारमा उतार्न नसकेको भन्दै उहाँले पूरानो मानसिकता परिवर्तनका लागि बाध्यकारी अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको भन्दै महानगर प्रमुख जिसीले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । पत्रकारिता क्षेत्रमा लागेर अझै पनि बाँच्न सक्ने अवस्था नहुनु दुःखदायी भएको बताउँदै उहाँले पत्रकारले विकल्प खोज्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भनाइ राख्नुभयो । आदिवासी जनजाति पत्रकारहरूलाई आफ्नो मातृभाषामा पत्रकारिता गर्न सुझाव दिँदै महानगर प्रमुख जिसीले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति भएको बताउनुभयो ।
“संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था” विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो अवधारणागत प्रस्तुती राख्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का गण्डकी प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङले मिडियामा अझै पनि आदिवासी जनजातिका मुद्दाले उचित स्थान पाउन नसकेको बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले गुणस्तरीय पत्रकारिताका लागि फोनिजले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संस्थापक केन्द्रीय उपाध्यक्ष बालकृष्ण काउछामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ति गुरुङ, कास्की जिल्ला शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङ, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, फोनिज, गण्डकी प्रदेशका महासचिव रुद्र श्रीसमगर, कास्की जिल्ला कार्यवाहक अध्यक्ष दिल गुरुङलगायतले भाषा, संस्कृति संरक्षणका लागि आदिवासी जनजाति पत्रकारहरूको कलम चल्नुपर्ने भनाइ राखे ।

Advertisment