मगर समुदायको भूम्या पर्व सुरु, ऊर्जा मन्त्री अनन्त यसरी नाचे

काठमाडौं, १ असार
हरेक वर्ष असार १ गतेदेखि मनाइने मगर समुदायको भूम्या पर्व सुरु भएको छ ।
रुकुमपूर्व, रुकुमपश्चिम र रोल्पासहित मगरात क्षेत्रमा विशेष रुपमा मनाउने गरिन्छ । काठमाडौंमा पनि यो पर्व मनाइएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा भएको पर्वमा ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुन ‘अनन्त’, पूर्व सभामुख ओनसरी घर्तीमगर, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीमगर, सांसद् अमृता थापामगर सहभागी हुनुभएको थियो । भूम्या पर्वका अवसरमा बाजा फुकाउनुका साथै भूमे नाच नाचसमेत प्रस्तुत गरिएको थियो।
यो पर्व मगर समुदायले असारको पहिलो साताभर भूमि अर्थात् प्रकृतिको पूजा गरी नाचगान गरेर मनाउने गर्छन् । आफ्नो संस्कृति जोगाउन र हिउँदे बाली भित्र्याइसकेर बर्षे बाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् भन्ने विश्वासका साथ यो पर्व मनाउने प्रचलन छ । परापूर्व कालदेखि हरेक वर्ष असार १ गतेदेखि एक हप्तासम्म यो पर्व मनाउने गरिन्छ । भूमि पूजाका अवसरमा देवतालाई बली दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाइ मार्ने चलन छ ।

Advertisment