अखिल नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा प्रा.डा. ओम गुरुङ

पोखरा, २० जेठ
नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध अखिल नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा मानवशास्त्री प्रा.डा. ओम गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार र आइतबार पोखरामा भएको महासंघको एकताको राष्ट्रिय सम्मेलनबाट प्रा.डा. गुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
महासंघले सोमबार बिहान पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको नयाँ नेतृत्व र निर्णयबारे जानकारी गराएको छ । सम्मेलनले पछि थप्ने गरी २६ सदस्यीय केन्द्रीय समिति र पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको नवनिर्वाचित अध्यक्ष प्रा.डा. गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनले महासंघको उपाध्यक्षमा पवनमान श्रेष्ठ, महासचिवमा नगेन्द्र राई, सचिवमा फुनाम्गेल मोक्तान र केबी फुदोङ तथा कोषाध्यक्षमा भरत बुर्जामगरलाई निर्वाचित गरेको छ । त्यसैगरी, केन्द्रीय सदस्यहरूमा निलबहादुर पुनमगर, कृष्ण गुरुङ, मोहन लिम्बू, खगेन्द्र छन्त्याल, निमकला पुनमगर, टेकबहादुर गुरुङ, दलबहादुर छन्त्याल, सुरेश तामाङ, प्रेम तामाङ, सोनाम याङ्की मुगुम, अस्मित चौधरी, गौरव राई, गंगा राई, श्याम कुमाल, बालकुमार सुनुवार, दयाराम चौधरी, फिरोल महतो, राजु भुजेल, गोपी श्रेष्ठ र शिव श्रेष्ठ रहनुभएको छ ।
त्यसैगरी, महासंघको सल्लाहकार समितिको संयोजकमा कमल चौधरी, सदस्यहरूमा भीमबहादुर श्रीसमगर, मानध्वज श्रेष्ठ, डीबी गुरुङ र बमबहादुर छन्त्याल रहनुभएको छ । अध्यक्ष प्रा.डा. गुरुङका अनुसार नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले ९ सदस्यीय सचिवालय समेत गठन गरेको छ । जसमा अध्यक्ष प्रा.डा. ओम गुरुङ, उपाध्यक्ष पवनमान श्रेष्ठ, महासचिव नगेन्द्र राई, सचिव केबी फुदोङ, फुनाम्गेल मोक्तान, कोषाध्यक्ष भरत बुर्जामगर, केन्द्रीय सदस्यहरू निलबहादुर पुनमगर, कृष्ण गुरुङ, मोहन लिम्बू, सोनाम याङ्की मुगुम र खगेन्द्र छन्त्याल रहनुभएको छ ।
यसअघि, सम्मेलनको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य “किरण” र स्थायी समिति सदस्य रामसिंह श्रीसले समापन गरेको महासंघका अध्यक्ष प्रा.डा. गुरुङले जानकारी दिनुभयो । सम्मेलनले आदिवासी जनजातिलगायतका उत्पीडित जाति र वर्गलाई समेट्दै नयाँ शिराबाट आन्दोलन उठान गर्ने निर्णय गरेको समेत उहाँले बताउनुभयो ।

Advertisment