स्याङ्जाको बरबोटमा १० दिने मगर भाषा कक्षा सम्पन्न

स्याङ्जा, ३१ वैशाख
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४, बरबोटमा सञ्चालित १० दिने मगर भाषा शिक्षा अभिमुखीकरण कार्यक्रमको मंगलबार समापन गरिएको छ ।
बरबोट मगर समूहको आयोजना तथा वडा नं. ४ कार्यालयको आर्थिक सहयोगमा भएको मगर भाषा शिक्षा अभिमुखीकरण कार्यक्रमको समापन गर्दै पुतलीबजार नगरपालिकाकी प्रमुख सीमाकुमारी क्षत्रीले नगर क्षेत्रभित्रका संस्कृति र भेषभूषाको संरक्षणका लागि प्रतियोगिता गर्ने सोंच बनाएको बताउनुभयो ।
आफ्नो भाषा, संस्कृति जोगाउन मगरहरूलाई जागरुक हुन आग्रह गर्दै नगर प्रमुख क्षत्रीले स्थानीय सरकारले विविध भाषा, संस्कृतिको संरक्षणका लागि सहयोग गर्न सधैं तयार रहेको उल्लेख गर्नुभयो । मातृभाषा हराउँदै जानु चिन्ताको विषय भएको भन्दै उहाँले लोपोन्मुख भाषा र संस्कृति जोगाउनु राज्यको पनि दायित्व भएको बताउनुभयो ।
जिल्ला समन्वय समिति, स्याङ्जाका सदस्य गुमानसिंह थापाले लोपोन्मुख मगर भाषाको संरक्षण गर्नु जरुरी रहेको बताउँदै देशैभरि छरिएर रहेका मगर समुदायको भाषा र संस्कृति लोप हुनु भनेको देशकै सम्पत्ति लोप हुनु भएको बताउनुभयो । आफ्नो मातृभाषा र संस्कृतिको संरक्षणमा सम्बन्धित समुदायले पनि चासो दिनुपर्ने बताउँदै थापाले राज्यले पनि संरक्षणका लागि आफ्नो दायित्व सम्झेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पुतलीबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ओमबहादुर खड्काले आफ्नो वडाभित्र आदिवासी जनजाति समुदायका रुपमा मगर समुदायको मात्र बसोबास रहेको र त्यसमा पनि अल्पसंख्यकका रुपमा मगरहरूको बसोबास रहेको भन्दै आफ्नो भाषा र संस्कृतिप्रति चासो बढोस् भनेर थोरै भएपनि बजेट विनियोजन गरिएको बताउनुभयो । समुदायले चासो दिएर प्रस्ताव लिएर आए आगामी बजेटमा अझ धेरै सहयोग गर्ने बताउँदै वडाध्यक्ष खड्काले सबै समुदायको विकास भए मात्र विकास र समृद्धिले सार्थकता पाउने उल्लेख गर्नुभयो ।


मगर भाषाका प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले मगर भाषा सिक्नका लागि १० दिनको समय त्यति पर्याप्त नभएपनि सिकेका कुरालाई निरन्तर अभ्यास एवं बोलीचाली र व्यवहारमार्फत् भाषा सिकाइमा विकास गर्न सकिने भनाइ राख्नुभयो । नेपाल मगर संघ, पुतलीबजार नगर समितिका अध्यक्ष लीलबहादुर रानामगरले वडा नं. ४ ले मगरहरूलाई जागरुक बनाउने प्रयास गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि मगर समुदायलक्षित बजेटलाई प्राथमिकता दिन स्थानीय सरकारसमक्ष आग्रह गर्नुभयो । सो अवसरमा मगर भाषा कक्षाकी प्रशिक्षार्थी सिर्जना थापामगरले १० दिनको छोटो समय भएपनि सामान्य बोलचालका लागि आवश्यक मगर भाषा सिकेको बताउनुभयो ।
बरबोट मगर समूहकी अध्यक्ष निर्मला रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कुमार थापामगर र सदस्य दिलीप रानामगरले स्वागत गर्नुभएको थियो । १० दिनसम्म चलेको मगर भाषा कक्षामा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले मगर भाषाको प्रशिक्षण दिनुभएको हो ।

Advertisment