नेतृत्व सही भएन भने क्रान्तिको उपलब्धी गुम्न सक्छ ः मुख्यमन्त्री गुरुङ

पोखरा, २ फागुन
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्वमा क्रान्ति गर्ने मात्र नभइ क्रान्तिबाट प्राप्त उपलब्धी संस्थागत गर्ने सामथ्र्य पनि हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले बुधबार पोखरामा बोल्दै नेतृत्वले सही व्यवस्थापन गर्न नसके क्रान्तिका उपलब्धी गुम्ने खतरा रहेको बताउनुभयो ।
२४ औं जनयुद्ध दिवसका अवसरमा नेकपा, कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले क्रान्तिबाट प्राप्त उपलब्धीको रक्षा गर्दै क्रान्तिले पूरा गर्न नसकेको अभिभारा पूरा गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अहिले नेकपाको दुई तिहाइको सरकार हुनु अवसरसँगै चुनौती पनि रहेको भन्दै उहाँले जनताले कदर गर्ने खालका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
नयाँ परिस्थितिको मूल्यांकन गर्दै कम्युनिष्ट पार्टीले आफ्नो कार्यदिशा तय गर्नुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले पूरानै शैलीमा अघि बढ्न नसकिने धारणा राख्नुभयो । शान्तिपूर्ण र सशस्त्र संघर्षको संयोजनबाट नेपालमा राजनैतिक परिवर्तन सम्भव भएको बताउँदै उहाँले शहीदको रगत खेर जान नदिन कम्युनिष्ट सरकारले जनमुखी कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेकपाका गण्डकी प्रदेश सहइञ्चार्ज एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले विगतमा जे जस्तो सम्बन्ध भएपनि दुई पार्टीको एकीकरणपश्चात एकीकृत पार्टीको एउटै संकल्प भएको बताउनुभयो । नेपालमा राजनैतिक रुपमा जनवादी क्रान्ति सम्पन्न भएको दाबी गर्दै नेता अधिकारीले आर्थिक र सांस्कृतिक रुपमा क्रान्तिलाई पूरा गर्न बाँकी भएको तर्क गर्नुभयो । शहीदहरूको त्याग र बलिदानले वर्तमान उपलब्धी प्राप्त भएको बताउँदै उहाँले संकीर्ण गुट स्वार्थका कारण पार्टी एकता प्रक्रियामा ढिलाइ हुन नहुनेमा जोड दिनुभयो ।
त्यस्तै, नेकपा, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे “उत्तम”ले श्रमजीवि जनताको मुक्तिका लागि जनयुद्धको सुरु गरिएको बताउनुभयो । अहिले देश फरक परिस्थितिमा आइपुगेको भन्दै अध्यक्ष उत्तमले नेपालका सबै कम्युनिष्ट घटक एक हुनुपर्नेमा जोड दिनुभयो । जनादेश अनुसार आफ्नो पार्टी अघि बढ्ने उल्लेख गर्दै उहाँले जनयुद्ध र जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीद एवं बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने दिशामा आफ्नो पार्टी दृढ रहेको दाबी गर्नुभयो ।
नेकपा, कास्कीका नेता दामोदर वैरागीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अर्का नेता बखानसिंह गुरुङ “आभास”ले गर्नुभएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू, गण्डकी प्रदेशका मन्त्रीहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी एवं पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Advertisment