प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ ः मन्त्री अजित

पोखरा, ११ असोज
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’ले व्यापक छलफल र अन्तरक्रियामार्फत् गण्डकी प्रदेशको सञ्चार नीति र कानून निर्माण गर्न खोजिएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले बिहीबार पोखरामा आयोजना गरेको प्रदेशको सञ्चार नीति र कानूनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अजितले सञ्चारकर्मी एवं पत्रकारहरूकै सुझावका आधारमा प्रदेशको सञ्चार नीति पारित गरिने उल्लेख गर्नुभयो । संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै सञ्चार क्षेत्रलाई पनि व्यवस्थित गरेर लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले संविधान अन्तर्गत रहेका सबै कानूनहरूमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्नेमा जोड दिँदै सरकारले आफैं मिडिया सञ्चालन गर्न खोज्नु उल्टो बाटो भएको बताउनुभयो । महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकार पनि नागरिक समाजकै सदस्य भएको बताउँदै राज्य र नागरिक समाज दुवै परिवर्तन नभएसम्म गुणात्मक विकास असम्भव रहेको उल्लेख गर्नुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले प्रदेश सरकारले पारित गर्न लागेको प्रदेशको सञ्चार नीतिका बारेमा जानकारी गराउँदै पत्रकारले सोधेका जिज्ञासाको प्रष्टीकरण दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश पौडेल र उपाध्यक्ष शान्ति गुरुङले स्वागत गर्नुभएको थियो ।

Advertisment