एकता सहकारीको सातौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, ३० भदौ
पोखरा महानगरपालिका–१४, चाउथेस्थित एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सातै प्रदेशमा पहिलोपटक गण्डकी प्रदेश सरकारले सहकारी ऐन ल्याउन लागेको जानकारी दिनुभयो । अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै मन्त्री थापाले गरिबदेखि धनीसम्मलाई सहकारीले समेटेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद् दीपक चर्तीमगर, सल्लाहकार कृष्ण केसीले सहकारीले छोटो समयमै प्रगति गरेको भन्दै नमुना सहकारीका रुपमा स्थापित हुन सकोस् भनी शुभकामना दिनुभएको थियो । सो अवसरमा उत्कृष्ट महिला बचतकर्ता सरिता पौडेल, उत्कृष्ट पुरुष बचतकर्ता झलकप्रसाद बाँस्तोला, एसईई उत्तीर्ण छात्रा प्रेरणा श्रेष्ठ, छात्र अनुप खड्का, एमबीबीएस उत्तीर्ण डा. सुन्दरी थापामगर र डा. बबिता खड्का, ज्येष्ठ नागरिक सु. देवीबहादुर केसी र पद्मादेवी थापालाई सम्मान गरिएको थियो । त्यसैगरी, कास्की जिल्लामै उत्कृष्ट व्यवस्थापकका रुपमा पुरस्कृत हुन सफल सो सहकारीकी प्रबन्धक सीमा थापालाई पनि सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष बालकृष्ण काउछामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदर्शन पौडेल र उपाध्यक्ष क्या. कृष्णबहादुर थापाले स्वागत गर्नुभएको थियो । साधारणसभाले प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

Advertisment