मगर आदिकवि रेख पुरस्कारबाट वेदान्त कविरत्न हितान पुरस्कृत

पोखरा, २८ भदौ
मगर भाषाका आदिकवि सु. रेखबहादुर सारुमगरका नाममा नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिले स्थापना गरेको “मगर आदिकवि सु. रेखबहादुर सारुमगर साहित्य पुरस्कार–२०७५”बाट वेदान्त कविरत्न रूद्रबहादुर हितानमगर सम्मानित हुनुभएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार आयोजित कार्यक्रममा वेदान्त कविरत्न हितानमगरलाई मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापामगरले ५ हजार रुपैयाँ नगद, दोसल्ला, फेटा र सम्मानपत्रले सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष थापामगरले मगर भाषा साहित्यको विकासमा मगर आदिकवि रेखबहादुरको उल्लेखनीय योगदान रहेको बताउनुभयो । मगर मातृभाषी समुदायले चासो देखाउनुपर्ने आवश्यकता औंल्याउँदै थापामगरले मगर आदिकविको सम्मानका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषामा लेखिएका साहित्यिक कृति प्रकाशनका लागि मगर संघ सहयोग गर्न तयार रहेको बताउनुभयो । नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले मगर भाषा, साहित्यको विकासमा आदिकविले पु¥याएको योगदानको राज्यले विशेष कदर गर्नुपर्ने बताउँदै मगर मातृभाषी समुदायले मगर आदिकविको सम्मानका लागि अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्र “सन्देश” मगर, पुरस्कृत व्यक्तित्व वेदान्त कविरत्न रूद्रबहादुर हितानमगर, जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सरस्वती रानामगर, साहित्यकारद्वय रामशरण गैह्रे, जीवन सागरलगायतले मगर आदिकवि रेखबहादुरको साहित्यिक एवं भाषिक योगदानका बारेमा चर्चा गरेका थिए ।
नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिका अध्यक्ष धीरेन्द्र थापामगर “किसानी”को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मीगीन र कार्यसमिति सदस्य लक्ष्मी पुनमगरले स्वागत गर्नुभएको थियो । मगर आदिकवि रेखबहादुरको जीवनी कोषाध्यक्ष पुनम थापामगरले प्रस्तुत गर्नुभएको थियो ।

Advertisment