दोस्रो ला–ग्राण्डी एक्स्पो–२०१८ को तयारी अन्तिम चरणमा

पोखरा, १६ साउन
पोखराको सिमलचौरमा रहेको ला–ग्राण्डी इन्टरनेशनल कलेजले यही साउन १८ र १९ गते दुई दिने दोस्रो ला–ग्राण्डी एक्स्पो–२०१८ को आयोजना गर्ने भएको छ ।
एक्स्पोको तयारीबारे जानकारी दिन बुधबार कलेजद्वारा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइयो । ‘दोस्रो ला–ग्राण्डी एक्स्पो–२०१८ ः ब्रिजिङ एकेडेमिया टु कम्युनिटी’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको कलेजका प्रिन्सिपल ई. किरण केसीले जानकारी दिनुभयो ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेजले आयोजना गर्ने एक्स्पोको गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले उद्घाटन गर्ने प्रिन्सिपल केसीले जानकारी दिनुभयो । एक्स्पोबाट कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्षमता प्रदर्शनी, अभिवृद्धि तथा प्रस्तुती शैलीको विकास हुनुका साथै समाजमा रहेका आम जनसमुदायका लागि समेत सचेतना जगाउने अपेक्षा गरिएको कलेजले जनाएको छ ।
एक्स्पो अन्तर्गत सफ्टवेयर प्रोजेक्ट प्रदर्शन, सफ्टवेयर प्रतियोगिता, स्तनपान तथा स्तन क्यान्सरसम्बन्धी सेमिनार, फोहोरमैला व्यवस्थापनसम्बन्धी अन्तरक्रिया, स्वास्थ्य सेवासम्बन्धी कार्यशाला गोष्ठी, अन्तर कलेज कार्यपत्र प्रस्तुती, अन्तर कलेज माविस्तरीय फिल्ड रिसर्च तथा प्रस्तुती प्रतियोगिता, आवेदन तथा व्यक्तिगत विवरण लेखन प्रतियोगिता, कला प्रदर्शनी, खाद्य पिरामिड तथा समस्या रुख प्रदर्शन, प्लाष्टिकको पुनप्र्रयोगसम्बन्धी प्रदर्शन र सांस्कृतिक कार्यक्रम, पुनर्ताजगी तथा खेलको आयोजना गरिने जनाइएको छ ।
१८ वर्षअघि स्थापित कलेजबाट हालसम्म ७ सय ५० जना भन्दा बढी दक्ष जनशक्ति दीक्षित भइसकेको र हाल ६ सय ५० जना भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको कलेजले जनाएको छ । कलेजमा हाल बीसीए, बीपीएच र बीबीए अध्यापन भइरहेको छ ।

Advertisment