पोखरामा ८ अर्ब लगानीमा १८ तल्ले अपार्टमेण्ट बन्ने

पोखरा, ८ भदौ
गण्डकी प्रदेशको राजधानी पोखरामा युवा व्यवसायी विमल बसेलले ८ अर्ब लगानीमा १८ तल्लो अपार्टमेण्ट बनाउनुहुने भएको छ ।
पोखरा महानगरपालिका–८, सेदीमा निर्माण गर्न लागिएको अपार्टमेण्ट आगामी तीन वर्षमा सक्ने लक्ष्य लिएको बी एण्ड लेक भ्यू रिसोर्ट एण्ड अपार्टमेण्टका प्रबन्ध निर्देशक बसेलले जानकारी दिनुभयो । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बसेलले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसक्दा अपार्टमेण्ट समेत तयार भइसक्ने दाबी गर्नुभयो ।
बसेलका अनुसार ३६ रोपनी क्षेत्रफलमा निर्माण हुने अपार्टमेण्ट तीन तलाको पार्किङसहित १८ तल्लामा ४ सय ६४ अपार्टमेण्ट निर्माण हुनेछ । अपार्टमेण्टमा रुफटप रेष्टुरेण्ट, सुपरमार्केट, ट्राभल सर्भिस, सलुन, ब्यूटी पार्लर, स्पा, मनि चेञ्जर, लन टेनिस, ब्याडमिण्टन, बलिङ, रुफटपलगायत २ वटा स्वीमिङ पुल, ह्याङ्गिङ रेष्टुराँ, स्काइ थिएटर, किड्स प्ले ग्राउण्ड, लेक भ्यू योगा तथा कम्युनिटी हल, पर्याप्त पार्किङ सुविधा रहनेछ ।
फेवा तालको काखमा निर्माण हुने अपार्टमेण्ट निर्माण सम्पन्न भएपछि जनघनत्वको चाप र पर्यटकको आगमनलाई थेग्न बहुतले भवनको आवश्यकता परिपूर्ति गर्न कोसेढुंगा बन्ने बसेलको दाबी छ ।

 

Advertisment