पत्रकार महासंघ प्रदेश नं. ४ को भेला कास्कीको लुम्लेमा

रूद्र श्रीसमगर
पोखरा, २४ जेठ
नेपाल पत्रकार महासंघ, प्रदेश नं. ४ ले प्रदेश अन्तर्गतका जिल्ला शाखाका अध्यक्ष तथा सचिवहरूको भेला कास्कीको लुम्लेमा गर्ने भएको छ । भेलाको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।
महासंघको पहिलो प्रादेशिक समिति निर्वाचित भएपछि पहिलोपटक भेलाको आयोजना गर्न लागिएको हो । यही जेठ २६ गते शनिबार हुने भेलामा प्रदेश नं. ४ अन्तर्गतका ११ वटै जिल्ला शाखाका अध्यक्ष र सचिवहरूको सहभागिता रहनेछ । भेलाको उद्घाटन प्रदेश नं. ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’ले गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
भेलामा महासंघको सदस्यता शुद्धीकरण, श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था एवं छिट्टै आयोजना हुने महासंघको प्रादेशिक प्रथम साधारणसभाको तयारीका बारेमा छलफल हुने महासचिव गणेश पौडेलले जानकारी दिनुभयो । भेलासँगै महासंघको प्रादेशिक समितिको तेस्रो बैठक समेत बस्ने उहाँले बताउनुभयो ।

Advertisment