फलामखानीको मदन–आश्रित माविका विद्यार्थीलाई निःशुल्क टाइ बेल्ट उपहार

रूद्र श्रीसमगर
फलामखानी (पर्वत), १९ जेठ
पर्वतको महाशिला गाउँपालिका–६, फलामखानीस्थित मदन–आश्रित माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क टाइ तथा बेल्ट उपहार वितरण गरिएको छ ।
सामाजिक विकास सशक्तिकरण अभियान नेपाल, काठमाडौं र किरण होमियो फार्मेसी, पोखराको सहयोगमा सो विद्यालयमा अध्ययनरत बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क रुपमा टाइ बेल्ट उपहारस्वरुप वितरण गरिएको हो । कार्यक्रममा महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, अभियानका अध्यक्ष विक्रम मल्ल, सोसेन्द्र अधिकारी र फार्मेसीकी सञ्चालिका किरण गुरुङले विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई टाइ बेल्ट उपहार प्रदान गर्नुभयो ।
अधिकांश विपन्न परिवारका विद्यार्थीले अध्ययन गर्ने सो विद्यालयमा हालसम्म कसैले पनि सहयोग नगरेको भन्दै पहिलोपटक सामाजिक विकास सशक्तिकरण अभियान नेपाल र किरण होमियो फार्मेसीका तर्फबाट विद्यालय पोशाकको टाइ बेल्ट उपहारस्वरुप सहयोग भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर क्षत्रीले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर बढाउनका लागि गाउँपालिकाका तर्फबाट सहयोग हुने बताउनुभयो । गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, रोजगारका दृष्टिले समेत समृद्ध गाउँपालिका बनाउने अभियानमा आफू लागिपरेको भन्दै अध्यक्ष पौडेलले सबैको साथ र सहयोग भएमा गाउँपालिकाका सबै विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न साथै, शैक्षिक गुणस्तरका हिसाबले समेत प्रतिस्पर्धी बनाउन सकिने उल्लेख गर्नुभयो ।
सामाजिक विकास सशक्तिकरण अभियान नेपालका अध्यक्ष विक्रम मल्लले धेरै ठूलो सहयोग नभएपनि विपन्न परिवारका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकता अनुरुप सहयोगलाई जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । किरण होमियो फार्मेसी, पोखराकी सञ्चालिका किरण गुरुङले विद्यार्थीहरूलाई हौसला प्रदान गर्न सानै भएपनि सहयोग गरेको जनाउँदै आगामी दिनमा अन्य हिसाबले पनि सहयोग गर्दै जाने भनाइ राख्नुभयो ।
कार्यक्रममा वडा सदस्यद्वय समीर गुरुङ, मनबहादुर विक, विद्यालयका प्रधानाध्यापक गोविन्द विक एवं शिक्षक खड्कबहादुर क्षत्रीले विद्यालयलाई पहिलोपटक यस्तो खालको सहयोग प्राप्त भएको बताउँदै विद्यालयको शैक्षिक उन्नयनका लागि राज्यको सहयोग मात्रै अपूरो रहेको र अन्य क्षेत्रबाट पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

Advertisment