असहाय , वालवालिकाहरुलाई पनि भत्ता दिनुपर्छ : मैनाली

 

पोखरा, २३ बैशाख  । बाल गृहहरुको महासंघका केन्द्रीय उपाध्यक्ष दुर्गा मैनालीले असहायः वालवालिकाहरुलाई भत्ता दिनुपर्ने बताएकी छन् । बाल गृहहरुको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई आईतबार पोखरामा सम्बोधन गर्दै उनले भनिन्,‘राज्यले एकल महिलालाई भत्ता दिएको छ, बृद्धबृद्धाहरुलाई भत्ता दिएको छ भने आश्रय विहिन् असहायः वालवालिकाहरुलाई पनि भत्ता दिनुपर्छ ।’ मैनालीले राज्यको विभेदकारी नीतिका कारण वाल गृहहरुमा आश्रित वालवालिकाहरुको भविष्य अन्धकारमा धकेलिने गरेको आरोप लगाईन् । उनले भनिन्,‘असहायः वालवालिकाहरुलाई वाल गृहहरुले संरक्षण दिन्छ, शिक्षा दिक्षा दिन्छ र योग्य बनाउँछ, तर जन्मदर्ता नहुँदा राज्यले नागरिकता दिदैन र गरिखाने बाटो बन्द गरिदिन्छ ।’ शैक्षिक प्रमाणपत्रको आधारमा नागरिकता दिने ब्यबस्था गर्नुपर्ने उनको भनाई थियो ।

गैसस महासंघ प्रदेश नम्बर ४ का उपाध्यक्ष गोपाल खड्काले राज्यले गैर सरकारी संस्थालाई राम्रो काम गर्दा प्रोत्साहन र स्याबासी नदिने तर गल्ती गर्ने वित्तिकै अपजसको भारीमात्र बोकाउने गरेको गुनासो गरे । उनले नेताहरुले वालवालिकाको शैक्षिक अभिभावकत्व अहिले लिएपनि दिर्घकालिन रुपमा नलिने ठोकुवा गर्दै बरु गैर सरकारी संस्थाहरुले सकेजति वालवालिकाहरुको अभिभावकत्व लिनुपर्नेमा जोड दिए ।कार्यक्रममा प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानून् मन्त्री हरिबहादुर चुमानले वालगृहहरुलाई राज्यको सहयोगीका रुपमा सरकारले हेरेको बताए । उनले प्रदेशको कानून निर्माण भईरहेको बताउँदै त्यस कानूनमा वाल गृहहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

वाल अधिकार श्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले वालवालिकालाई सक्ने काम लगाउँदा त्यसलाई बालश्रम नभनिने प्रष्ट्याए । उनले भने,‘वालवालिकालाई आफूले सक्ने बारीको होस् वा भान्साको काम लगाउँदा त्यो बालश्रम मानिदैन, त्यो काम नगराए त वालवालिकाले कसरी सिक्छन् त काम ? तर शिक्षा, स्वास्थ्यबाटै बञ्चित गराएर काम गराएमा भने त्यो बालश्रम हुन्छ ।’बालगृह महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष गोमा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वाल गृहहरुको महासंघका केन्द्रीय सचिव बिजयकुमार प्रधानले नेपालमा वाल गृहहरुको संख्या, उनीहरुको अवस्था, समस्या र चुनौति लगायतबारे जानकारी गराएका थिए ।

Advertisment