काठमाडौं,
लाफा ग्रुप लिमिटेडले आफ्ना शेयरधनीलाई शतप्रतिशत लाभांश बाँड्न सफल भएको छ । कम्पनीले स्थापना भएको सात वर्षमा शेयरधनीलाई शतप्रतिशत लाभांश बाँड्न सफल भएको हो । यसअघि, कम्पनीले ९२ प्रतिशत लाभांश वितरण गरेकोमा आठौं वार्षिक साधारणसभाबाट ८ प्रतिशत लाभांश पारित गरेसँगै शेयरधनीलाई शतप्रतिशत लाभांश दिन सफल बनेको हो ।

कम्पनीले साधारणसभाबाट आईपीओमा जाने निर्णय समेत गरेको छ । सर्वसाधारणका लागि शेयर निष्काशनका लागि कम्पनीले आवश्यक प्रक्रिया अघि बढाउन लागेको अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो । साधारणसभाले विभिन्न भावी योजना तथा व्यवसायिक प्रस्ताव पारित समेत गरेको छ । सामूहिक लगानीमा स्थापित लाफा ग्रुपले जग्गा तथा आवास, जलविद्युत, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

साधारणसभाले अध्यक्ष चन्द्रज्योति आलेद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना, चार्टर्ड एकाउण्टेण्ट (सीए) जनक थापाद्वारा प्रस्तुत लेखा प्रतिवेदन आवश्यक परिमार्जनसहित सर्वसम्मतिले पारित गरेको छ ।

यसैबीच, कम्पनीको साधारणसभाले नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । नयाँ सञ्चालक समितिमा चन्द्रज्योति आले, जंगबहादुर थापा, सुशीला थापा, ज्ञानेन्द्र पुन, गुप्तबहादुर राना, मनमाया थापा र निलबहादुर सारू सर्वसम्मत निर्वाचित हुनुभएको छ । साधारणसभाको उद्घाटनका अवसरमा सञ्चालक गुप्तबहादुर राना र कम्पनी सचिव इन्दिरा श्रीसले पनि बोल्नुभएको थियो ।






