जुलाई १६, न्यूयोर्क ।
नेपाल आदिबासी जनजाती महासंघ (फिप्ना), अमेरिकाले ३१औँ विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने भएको छ । फिप्नाले गरेको कार्यालय बैठकमा अगस्ट ९ तारिखको दिन न्यूयोर्कमा ३१औँ विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिएको हो ।
फिप्नाले यो वर्ष “आदिवासी जनताको आत्मनिर्णयको अधिकार , खाद्य सुरक्षाको र स्वाधीनता को बाटो” भन्ने मूल नारा सहित विश्व आदिवासी दिवस मनाउने बैठकमा निर्णय गरेको जानकारी दिइएको छ ।
सोही सन्दर्भमा फिप्नाका अध्यक्ष तोरण गुरूङले न्यूयोर्कमा रहेका १८ वटा संस्थाका नेपाली आदिवासी जनजाति समुदायहरूले जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीत, सांस्कृतिक झाँकी र विभिन्न जातीय भेषभूषा सहित शनिवारको दिन उडसाईड एभन्युको ७२ स्ट्रिट देखि ७९ स्ट्रिटको मध्यभाग सम्म र्याली गरि मञ्चमा साँस्कृतिक कार्यक्रम गरि अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाउने जानकारी दिनुभयो ।
झाँकीसहितको र्याली १० बजे उडसाईड एभिन्युको ७२ स्ट्रिटमा जम्मा भएर ७९ स्ट्रिटको मध्यभागको मञ्चमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ भने ७९ स्ट्रिटको सोही मञ्चमा कार्यक्रम सुरु हुने बताइएको छ । उक्त कार्यक्रममा विदेशी आदिवासी जनजातिहरूको पनि उपस्थिति हुने र न्यूयोर्कमा रहेका विभिन्न सरकारी निकायका प्रमुख तथा राजनीतिज्ञहरू, नेपाल सरकार अन्तर्गतका प्रमुखहरू, आदिवासी जनजाति विशिष्ट व्यक्तित्वहरू, जातीय संस्था र सम्बन्धन सङ्गठनका अध्यक्ष लगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति सङ्घ संस्थाबाट हजारौँको उपस्थिति रहने जनाइएको छ ।






