मे २१ न्युयोर्क,
अमेरिकाको न्युयोर्क सहरमा नेपाली संस्कृति झल्कने झाकी सहित सांस्कृतिक कार्यक्रम गरि नेपाल डे परेड सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरको मूल आयोजनामा र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा आईतवार सातौ संस्करणको नेपाल डे परेड सम्पन्न भएको हो।

न्युयोर्क सहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले उद्घाटन गरेको परेडमा मेचीदेखि महाकालीसम्मका विभिन्न जातजातिहरूको भेषभुसामा सजिएर नेपाली संस्कृति झल्कने झाकी सहित विभिन्न संघसंस्थाका ब्यानर बोकेर नेपाली र नेपाली–अमेरिकनहरूको उपस्थिति तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो भने यस पटकको विशेष उपस्थिति न्युयोर्क प्रहरी कलर गार्ड र न्युयोर्क सिटी प्रहरी कार सहित पहिलोपटक नेपालको झण्डा फहराउदै परेडमा न्युयोर्क प्रहरी सहभागी भएको थियो ।

यसरी सो परेडमा न्युयोर्क प्रहरीलाई सहभागी गराउन नेपलिज ल ईन्फोर्समेण्ट र एनवाईपिडी देशी सोसाइटीका अध्यक्षहरूको सहकार्यमा भएको थियो । सन् १८४५ मे महिना को २३ तारिखमा स्थापना भएको न्युयोर्क प्रहरीले ईतिहासमै पहिलो पटक यसरी नेपालको झण्डा फहराउदै सहभागी भएको कुरा नेपलिज ल ईन्फोर्समेण्टका अध्यक्ष सोनाम घिसिङले लाफाखबरलाई बताए ।

नेपाली एवं नेपाली मूलका अमेरिकीहरूको बाक्लो उपस्थिति रहेको परेडमा देशप्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्रिय भाव प्रकट गर्दै नेपालको विभिन्न स्थानका पर्यटकीय गन्तव्यसहित नेपाल भ्रमण गर्नुपर्ने सन्देश पनि सो परेडले दिएको थियो भने सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो ।






