सिन्धुपाल्चोकका बाढीपीडितलाई लाफा रुङ फाउण्डेशनको राहत

सिन्धुपाल्चोक, ६ असार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. ६, चनौटेका ३५ घरधुरी बाढीपीडितलाई लाफा रुङ फाउण्डेशनले राहत वितरण गरेको छ ।
फाउण्डेशनले शनिबार हेलम्बुका बाढीपीडितका लागि राहत वितरण गरेको हो । सो अवसरमा फाउण्डेशनले वडाका जनप्रतिनिधि, स्थानीय समाजसेवी अर्जुनकुमार भण्डारी, राजु थापामगर र नेपाल मगर संघ, हेलम्बु गाउँ समितिका अध्यक्ष बलबहादुर थापामगरको रोहवरमा राहतस्वरुप जस्तापाता, म्याट्रेस र ब्लाङ्केट सहयोग गरेको हो ।
लाफा ग्रुप लिमिटेडकी अध्यक्ष एवं फाउण्डेशनकी सञ्चालक चन्द्रज्योति आलेमगरको नेतृत्वमा गएको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगी बाढीपीडितलाई राहत वितरण गरेको हो । सो राहत वितरण कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मीना ज्ञवाली, लाफा ग्रुप लिमिटेडका सञ्चालक रक्षाबहादुर रैकामगर, लाफा होलिडेज प्रालिका अध्यक्ष जीवन थापामगर, सञ्चालक सुशीला थापामगर, नेपाल मगर संघ, बागमती प्रदेशका अध्यक्ष राजकुमार थापामगर, नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय संगठन सचिव निर आलेमगरको उपस्थिति रहेको थियो ।
देश तथा विदेशमा रहेका लाफा ग्रुप लिमिटेड र फाउण्डेशनका सदस्य एवं शुभचिन्तकहरूबाट राहत संकलन गरिएको जनाउँदै लाफा ग्रुपकी अध्यक्ष आलेमगरले देशका अन्य ठाउँका बाढीपहिरो पीडितका लागि समेत सक्दो राहत वितरण गरिने जानकारी दिनुभयो । साथै, आलेमगरले राहत संकलन कार्यमा सहयोग गर्ने देश तथा विदेशमा रहनुभएका सबै सहयोगीहरूलाई धन्यवाद समेत दिनुभयो ।

Advertisment