पोखरा, २० मंसिर
तनहुँको रिसिङ गाउँपालिका–३ निवासी मृगौलापीडित २८ वर्षीय श्रीबहादुर थापामगरको उपचारमा सहयोग गर्नका लागि नेपाल मगर सांस्कृतिक संघ, कास्कीले विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरेको रकम शनिबार हस्तान्तरण गरिएको छ ।
संघको पहलमा संकलित २ लाख २६ हजार ४४६ रुपैयाँ नगद शनिबार आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगर, कास्की जिल्ला अध्यक्ष संगीता पुनमगरलगायतले मृगौलापीडित श्रीबहादुरका बुबा दिलबहादुरलाई हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरणपछि बोल्दै कार्यक्रमका मगर संघका केन्द्रीय सदस्य रानामगरले कलाकारहरूले आफ्नो संगीत कर्मको अलावा सामाजिक कार्यलाई समेत प्राथमिकता दिएर सराहनीय काम गरेको बताउनुभयो । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सामाजिक र मानवीय सेवामा कलाकारहरूले आफूलाई समर्पित गरेकोमा प्रशंसा गर्दै आफूले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै मृगौलापीडित श्रीबहादुरका बुबा दिलबहादुरले बुढेसकालमा आफ्नो सहारा बन्ला भन्ने छोराको उपचारमा आफूले सम्पूर्ण सम्पत्ति खर्च गरिसकेको बताउनुभयो । उहाँले आफू छोराको उपचारका लागि भौंतारिँदै हिँडेको उल्लेख गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ र नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारूमगरले समेत मृगौलापीडित श्रीबहादुरको उपचारका लागि सक्दो सहयोग गरिदिन सबैलाई अनुरोध गर्नुभयो ।
सो अवसरमा तमु धिं नेपालको अध्यक्षमा हालै मात्र निर्वाचित हुनुभएको भन्दै हुमबहादुर गुरुङलाई नेपाल मगर सांस्कृतिक संघ, कास्कीको तर्फबाट बधाईसहित सम्मान गरिएको थियो ।
मृगौलापीडित थापालाई मगर सांस्कृतिक संघ, कास्कीद्वारा संकलित २ लाख बढी रकम हस्तान्तरण
२० मंसिर २०७७, शनिबार
924
Advertisment