दिलु सलामी मगरको मार्मिक लोकगीत ‘होनि बरै’

पोखरा, १३ असोज
झण्डै एक दशकको अन्तरालपछि पुनः गायन क्षेत्रमा फर्किएकी चर्चित लोक तथा दोहोरी गायिका दिलु सलामी मगरले आफ्नै पारिवारिक कथाको सजीव चित्रणसहितको नयाँ एकल लोकगीत बजारमा ल्याएकी छिन् ।
आफ्ना स्वर्गीय पिता लीलाराम सलामी मगरको सम्झनामा गायिका दिलुले “होनि बरै” बोलको एकल लोकगीत आफ्नो युट्युबमार्फत् सार्वजनिक गरेकी छिन् । आफ्नै लय, शब्द तथा स्वरमा उनले गीतको म्यूजिक भिडियोमार्फत् आफ्ना बुबा आमाको सम्झनालाई सजीव बनाउन खोजेकी छिन् ।
गायिका दिलुको यथार्थ जीवनमा आधारित यस गीतको म्यूजिक भिडियोमा सारिका केसी, सुरवीर पण्डित (दाह्री बा) र रमा थपलियाको सशक्त अभिनय देख्न पाइन्छ । म्यूजिक भिडियोको कथा र परिकल्पना गायिका दिलु आफैंले गरेकी छिन् । दिवान किनारको संगीत संयोजन रहेको यस गीतको म्यूजिक भिडियोको निर्देशन भने मानसिंह खड्काले गरेका छन् । सागर गौतमको छायांकन रहेको म्यूजिक भिडियोको सम्पादन राजकुमार मगरले गरेका हुन् भने मोहन लामाको श्रृंगार रहेको छ ।

Advertisment