मगर आदिकवि रेख पुरस्कार पूर्व मन्त्री थापा र बुढालाई

पोखरा, २९ भदौ
मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको नाममा स्थापित पुरस्कार यस वर्ष पूर्व विज्ञान तथा प्रविधि मन्त्री एवं वरिष्ठ साहित्यकार शिवलाल थापा र नवप्रतिभा पुरस्कार रोल्पाका साहित्यकार बेलबहादुर बुढालाई प्रदान गरिने भएको छ ।
मगर आदिकवि रेखबहादुरको ७७ औं जन्मजयन्तीका अवसरमा आइतबार पुरस्कार घोषणा गरिएको छ । कोभिड–१९ को महामारीका कारण औपचारिक कार्यक्रम भने गरिएन । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश र आदिकवि सु. रेखबहादुर सारू मगर स्मृति तथा साहित्य प्रतिष्ठान, तनहुँको संयुक्त आयोजनामा आइतबार साँझ भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा यस वर्ष “मगर आदिकवि सु. रेखबहादुर सारूमगर साहित्य पुरस्कार–२०७७”बाट पूर्व मन्त्री थापा र “मगर आदिकवि सु. रेखबहादुर सारूमगर साहित्य नवप्रतिभा पुरस्कार–२०७७”बाट बुढालाई प्रदान गरिने घोषणा गरिएको हो ।
कार्यक्रममा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले पूर्व मन्त्री थापा र बुढालाई पुरस्कृत भएको घोषणा गर्नुभएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासचिव पुनमगरले पुरस्कृत दुबै साहित्यकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । साथै, मगर भाषाको सहित्यलाई अझै उठाउन केन्द्र सधैं तयार रहेको र त्यसका लागि सबै मगर संगठनहरु सँग सहकार्य र सहयोग गर्न तयार रहेको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा विभागकी प्राज्ञ लक्ष्मी मालीले नेपालमा बोलिने सबै मातृभाषाका आदिकविहरूको जन्मजयन्ती प्रज्ञा प्रतिष्ठानको सभाहलमा मनाउने धोको रहेको उल्लेख गर्नुभयो । प्रतिष्ठानको तर्फबाट सबै मातृभाषाका आदिकवि, महाकवि एवं साहित्यकार, स्रष्टाहरूका लागि आवश्यक सहयोग गर्न तयार रहेको प्राज्ञ मालीले बताउनुभयो ।


यस्तै, विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ का कारण भर्चुअल माध्यम (जुम)बाट पुरस्कार घोषणा गर्नु परेपनि उपयुक्त समय पारेर पछि पुरस्कार हस्तान्तरण गरिने नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष धिरेन्द्र थापामगर ‘किसानी’ले जानकारी दिनुभयो । उहाँले रेखबहादुर सारूमगर साहित्य पुरस्कारको राशी ७ हजार ७ र नवप्रतिभा पुरस्कारको राशी ५ हजार ५ रुपैयाँ नगद रहेको र पछि पुरस्कार राशि वृद्धि गर्दै लैजाने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा पुरस्कृत साहित्यकार एवं पूर्व मन्त्री थापाले मगर भाषा, साहित्यको विकासमा आफूले निरन्तर कलम चलाइराख्ने बताउँदै सम्मान र पुरस्कारका लागि धन्यवाद व्यक्त गर्नुभयो । यस्तै, अर्का पुरस्कृत साहित्यकार बुढामगरले आफ्ना लेखनको उचित मुल्याङ्कन गरी पुरस्कारको योग्य ठानेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै, उहाँले कार्यक्रममा आफ्ना केही मगर भाषामा लेखिएका रचना समेत प्रस्तुत गर्नुभएको थियो । तीन प्रकारका मगर भाषामध्ये मगर भाषा (ढूट)बाट पूर्व मन्त्री थापा र मगर भाषा (खाम)बाट बुढा पुरस्कारका लागि छानिनुभएको हो ।

पुरस्कृत व्यक्तित्व बेलबहादुर बुढामगर

सो अवसरमा नेपाल मगर लेखक संघका अध्यक्ष विष्णुकुमार सिंजालीमगर, मगर भाषाका अर्का आदिकविका नाममा स्थापित जीतबहादुर सिंजालीमगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगर, नेपाल मगर संघका काइके भाषिक उपाध्यक्ष भीम रोकायमगर, मगर आदिकवि रेखबहादुरका छोरा शिवकुमार सारूमगर, नेपाल मगर संघका पूर्वअध्यक्ष क्या. यामबहादुर बुढाथोकीमगर, नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरलगायतले मगर भाषा र मगर आदिकवि रेखबहादुरका बारेमा बोल्नुभएको थियो ।
नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशले रेखबहादुर सारूमगर साहित्य पुरस्कारबाट यसअघि अग्रज साहित्यकारहरू फूलकुमारी थापामगर, लोकबहादुर थापामगर, वेदान्त कविरत्न रूद्रबहादुर हितानमगर र उजीर रानामगरलाई पुरस्कृत गरिसकेको छ । पुरस्कृत व्यक्तित्व छनौटका लागि संघकी केन्द्रीय सदस्य बेलीमाया रखालीमगर (गीता)को संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । जसका सदस्यहरूमा अध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’, उपाध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष खडक आलेमगर, सचिव कृष्ण थापामगर ‘मीगीन’, पूर्व सचिवद्वय मीना थापामगर र ऋतुभक्त थापामगर र प्रतिष्ठानका संस्थापक अध्यक्ष लुमबहादुर खाम्चामगर रहनुभएको थियो ।
संघका गण्डकी प्रदेश समितिका अध्यक्ष धिरेन्द्र थापामगर ‘किसानी’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा मगर आदिकवि रेखबहादुरको जीवनी वाचन सचिव कृष्ण थापामगर ‘मीगीन’ र स्वागत प्रतिष्ठानका अध्यक्ष एवं संघका उपाध्यक्ष खड्क आलेमगरले गर्नुभएको थियो । त्यस्तै, सम्मानित व्यक्तित्व पूर्व मन्त्री थापामगरका बारेमा संघका सह–सचिव दीपक सिंजालीमगर र बुढामगरका बारेमा प्रतिष्ठानका उपाध्यक्ष केशर थापामगरले प्रस्तुती राख्नुभएको थियो ।

Advertisment