नेपाल आइडलबाट बाहिरिएपछि नीलिमाको चर्चा, गृह नगर पोखरामा भव्य स्वागत

पोखरा, २१ मंसिर
एपीवान टेलिभिजन एचडीबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो “नेपाल आइडल सिजन–२”को प्रतिस्पर्धाबाट बाहिरिएपछि पोखराकी गायिका नीलिमा थापामगरको चर्चा थप चुलिएको छ । निकै सम्भावना भएका गायिका नीलिमा नेपाल आइडलको उत्कृष्ट ७ बाट बाहिरिएकी हुन् । दर्शकको अत्याधिक भोट पाएपनि स्वास्थ्यका कारण उनी बाहिरिनु परेको उनले बताएकी छिन् ।
नेपाल आइडलको प्रतिस्पर्धाबाट बाहिरिएपछि नीलिमालाई गीत गाउने सयौं अफर आएका छन् । दर्शक, स्रोतालाई नयाँ कोसेली दिने तयारीमा रहेकी उनी आफ्नो गृहनगर पोखरा आएकी छिन् । गृह नगर पोखरामा उनको भव्य स्वागत गरिएको छ । कास्कीको पोखरा महानगरपालिका–११, फूलबारीनिवासी उनलाई शुभचिन्तकहरूले पोखरा विमानस्थलमा भव्य स्वागत गरे ।


नीलिमालाई भोट गरी जिताउने अभियानका लागि गठित नीलिमा थापामगर नेपाल आइडल बनाऊँ अभियान सहयोग समिति, पोखरा र पोखरा एकेडेमीलगायतका विभिन्न संघसंस्थाले बुद्ध एयरको विमानबाट पोखरा विमानस्थलमा ओर्लिएलगत्तै उनको भव्य स्वागत गरियो । त्यसपछि पोखरा विमानस्थलबाट भव्य स्वागत ¥याली सुरु गरी नागढुंगा, लखनचोक, नयाँबजार, महेन्द्रपुल, भीमसेनचोक, पालिखेचोक, नदीपुर, बगर, केआईसिंह पुल, तल्लो दीप, अमर दीप, बाटुलेचौर हुँदै पोखरा एकेडेमीमा पुगी स्वागत एवं सम्मान कार्यक्रममा परिणत भएको थियो ।


कार्यक्रममा नीलिमालाई उनले पढेको विद्यालय पोखरा एकेडेमीका तर्फबाट सम्मान गरियो । त्यस अवसरमा बोल्दै उनले पोखरेली दर्शक, स्रोताको माया र सम्मान पाएकोमा खुशी व्यक्त गरिन् । नेपाल आइडलको प्रतिस्पर्धाबाट बाहिरिएपनि आगामी दिनमा पनि नेपाली संगीतमा लागिरहने वाचा गर्दै सबैलाई निरन्तर सहयोग गर्न अपिल समेत गरिन् । सहयोग समितिका संयोजक विनित जोजिजूले नीलिमाको सांगीतिक करिअर अघि बढाउन आफूहरूले सक्दो सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, पोखरा एकेडेमीका संस्थापक/प्राचार्य महेन्द्रबहादुर गुरुङले आफ्नै विद्यालयको उत्पादन हो भन्न पाउँदा गर्व लागेको बताउँदै नीलिमाको सांगीतिक भविष्यका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नीलिमालाई बागलुङमा सम्मान
नीलिमा पोखरापछि बागलुङ पुगेकी छिन् । आफ्नो हुनेवाला श्रीमान् मौसम थापामगरसँगै बागलुङ पुगेका नीलिमालाई नेपाल मगर संघ, बागलुङ र नेपाल मगर सांस्कृतिक संघ, बागलुङले स्वागतसँगै सम्मान गरेको हो । नेपाल मगर सांस्कृतिक संघ, बागलुङका अध्यक्ष प्रकाश थापामगरले नेपाल आइडलजस्तो लोकप्रिय कार्यक्रमको उत्कृष्ट ७ मा पुग्नु सम्पूर्ण बागलुङेका लागि गर्वको कुरा भएको भन्दै सम्मान गरिएको बताउनुभयो ।

Advertisment