लोकसंगीतमा अघि बढ्दै सिर्जना

लोक तथा दोहोरी गायिका सिर्जना आलेमगर, नेपाली लोकसांगीतिक आकाशमा उदीयमान एउटा नाम हो । स्याङ्जाको हरिनास गाउँपालिका, मग्याम चिसापानी, प्यारसिङमा जन्मेकी सिर्जनाको कर्मघर भने हरिनास गाउँपालिका–७, क्याक्मी, चाङसिङ हो । उनको माइतीघर अहिले तनहुँको भिमाद नगरपालिका–१, बौसानमा पर्छ । हाल, तनहुँको शुक्लागण्डकी नगरपालिका, खैरेनीटारनिवासी उनी नेपाली लोक संगीत क्षेत्रमा संघर्षरत छिन् ।


सानै उमेरदेखि नै गीत, संगीतमा औधी रुचि राख्ने उनी १४ वर्षको किशोरावस्थामै विवाह गर्न बाध्य भइन् । त्यसपछि, करिब पाँच/छ वर्षसम्म संगीत क्षेत्रदेखि टाढै रहेकी उनी बिस्तारै गीत, संगीतलाई नजिकबाट नियाल्न थालिन् । बेला, बखतमा आयोजना हुने मेला अनि महोत्सवमा जान थालेकी उनी दोहोरी गीत प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्थिन् । दोहोरीमा उनी कहिले प्रथम त, कहिले दोस्रो हुने गर्थिन् । दोहोरीमा उनी प्रायः कि त पहिलो, कि दोस्रो नै हुन्थिन् । दोहोरी गीत गाउँदा गाउँदै उनले एल्बम निकाल्ने विचार गरिन् । २०७१ सालमा उनले पहिलो गीति एल्बम निकाल्न सफल भइन् । पहिलो एल्बम निकालेपछि उनले गीत, संगीतलाई नै निरन्तरता दिन थालिन् । मेला, महोत्सवका कार्यक्रममा सहभागी भएर गीत गाउन थालेदेखि उनको बिस्तारै चर्चा पनि बढ्दै जान थाल्यो ।


हालसम्म उनले तीन वटा आफ्नै एल्बम निकालिसकेकी छिन् भने अरुका दुई वटा एल्बममा स्वर दिएकी छिन् । उनका सबै गीतहरू युट्युबमा हेर्न सकिन्छ । उनको पहिलो सांगीतिक कोसेली ‘दिनमा छाम साथी’ हो भने, दोस्रो कोसेली ‘रोदीको खालैमा’ र तेस्रो कोसेली ‘झल्को मात्रै आउने’ हो । उनले सबै गीतको म्यूजिक भिडियो छायांकन गरी युट्युबमा राखेकी छिन् । उनको स्वर रहेको एउटा सालैजो र अर्को लोक गीत पनि छिटै बजारमा आउन लागेका छन् ।


अहिले उनले पारिवारिक साथ पनि पाएकी छिन् । उनी भन्छिन्, ‘मलाई गीत, संगीतमा लाग्ने सानैदेखिको रुचि हो, अहिले म ढिलै भएपनि सांगीतिक क्षेत्रमा संघर्ष गर्दैछु ।’ व्यवसायिक रुपमै लोकसंगीत क्षेत्रमा हाम फालेकी उनी अन्य धेरै कलाकारजस्तै अवसरको पर्खाइमा छिन् । ‘रहरले गायन क्षेत्रमा लागियो’, उनी भन्छिन्, ‘अहिले म आफूले लोकसंगीत क्षेत्रका लागि केही गर्ने अठोट लिएकी छु ।’
गीत गाएर टिक्न सकिन्छ त ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘राम्रो गाएर अनि धेरै संघर्ष गरेर धेरै कलाकार बाँचेका छन्, म पनि संघर्ष गर्दैछु ।’ सकेसम्म राम्रो गीत गाउने प्रयासमा आफू रहेको उनको भनाइ छ । आजभोली लोकसंगीतमा विकृति भित्रिएकोमा उनको पनि चित्त दुखाइ रहेछ । भन्छिन्, ‘विकृति, विसंगतिले गर्दा लोकसंगीत क्षेत्रलाई दुर्गन्धित बनाउन खोजेको छ, तर, यस्तो हुन नदिन सबै कलाकार एक हुनुपर्छ ।’


उनी कलाकारको हक, हितका लागि भन्दै खोलिएका विभिन्न संघसंस्थामा पनि आबद्ध छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, तनहुँ र नेपाल मगर सांस्कृतिक संघ कास्कीमा पनि उनी क्रियाशील भइ लागेकी छिन् । उमेरले अग्रज भएपनि सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी सिर्जनालाई सांगीतिक सफलताको शुभकामना ।
प्रस्तुतकर्ता ः रुद्र श्रीसमगर

Advertisment