पोखरेली दर्शकमाझ मगर चलचित्र ‘लर्फु’

रूद्र श्रीसमगर
पोखरा, ८ असार
म्याक्सन फोर डी. स्टुडियो प्रालिको तेस्रो प्रस्तुती मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘लर्फु’ अर्थात् ‘पछ्यौरी’को शनिबार पोखरामा भव्य प्रदर्शन गरिएको छ ।
नेपाल मगर महिला संघ कास्कीको आयोजनामा पोखराको वीरेन्द्रचोकस्थित भमरकोट पार्टी प्यालेसमा भएको विशेष प्रदर्शनमा चलचित्र हेर्न दर्शकको घुइँचो थियो । बिहान ११ बजे र २ बजे गरी दुई वटै शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको संघकी जिल्ला अध्यक्ष नुनु रानामगरले जानकारी दिनुभयो । चलचित्रकी नायिका प्रतीक्षा रानामगरले दर्शकको उल्लेख्य उपस्थितिले आफू निकै उत्साहित बनेको प्रतिक्रिया दिनुभयो ।


चलचित्रको विशेष प्रदर्शन उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षण एवं प्रचारप्रसारमा चलचित्रले निकै महŒवपूर्ण भूमिका खेलेको बताउनुभयो । मगर जातिको जनसंख्याको अनुपातमा मगर चलचित्र निकै कम बनेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष रानामगरले संख्यासँगै गुणस्तरीय चलचित्र बनाउन मगर चलचित्रकर्मीहरूलाई आग्रह समेत गर्नुभयो ।


मगर चलचित्रकर्मी संघ नेपालका उपाध्यक्ष मेजन पुनमगरले मगर चलचित्रलाई बजारीकरणमा समस्या रहेको भन्दै सोंचेजति व्यवसायिक रुपमा मगर चलचित्रलाई लैजान नसकिएको उल्लेख गर्नुभयो । मगर संघसंस्थाहरूले मगर चलचित्रको प्रवद्र्धनमा बजारीकरण र अन्य माध्यमबाट सहयोग गर्नुपर्ने धारणा राख्दै उपाध्यक्ष पुनमगरले मगर चलचित्रको निर्माणमा उत्साह थप्ने गरी राज्यले समेत विशेष प्रोत्साहन दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले मगर चलचित्रहरू कम निर्माण हुनु दुःखको विषय भएको भन्दै गुणस्तरीय चलचित्र निर्माण गर्न सके दर्शकको कुनै कमी नरहने प्रतिक्रिया दिनुभयो । राम्रो चलचित्र बनाएर मात्र नहुने भन्दै उपमहासचिव श्रीसमगरले प्रचारप्रसारमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल मगर संघ सैनिकबस्ती एकाइ समितिका अध्यक्ष हरकुमार रानामगरले पनि बोल्नुभएको थियो ।


नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी थापामगर र उपाध्यक्ष चन्द्रा थापामगरले स्वागत गर्नुभएको थियो ।


यसअघि, सो चलचित्रको नवलपुरको कावासोती, दलदले, तनहुँको भिमाद, खैरेनीटार, पाल्पाको तानसेनलगायतका विभिन्न ठाउँमा सफल प्रदर्शन भइसकेको चलचित्र निर्देशक एवं चलचित्रका सिनेम्याटोग्राफर सन्तोष पिठाकोटेमगरले बताउनुभयो । मगर कथानक चलचित्रहरू ‘ङऊ कर्म’ (मेरो कर्म), ‘लाङ्घऊ रोह’ (गाउँको माया) र ‘छीनीङ पीहीन’ (आजभोली)का निर्माता एवं गायक चेतन रजालीमगरको डेब्यु निर्देशन रहेको चलचित्र ‘लर्फु’को यसअघि गत चैत्र २४ गते भीआईपी प्रदर्शन समेत भइसकेको छ ।
चलचित्र ‘लर्फु’का निर्माताहरूमा अमर घर्तीमगर, केशर आलेमगर, कमल सूर्यवंशीमगर, चेतन रजालीमगर रहनुभएको छ । चलचित्रको लेखन, गीत तथा संगीत चेतन रजालीमगरकै हो भने अमर घर्तीमगरको कथा रहेको छ । सो चलचित्रको छायाङ्कन नवलपुरको कावासोती, झाटे, धोवादी, शंखदेउ, पृथ्वीनगर, कास्कीको पोखरालगायत विभिन्न मनोरम स्थलहरूमा गरिएको छ ।
चलचित्रमा नारायण सारूमगर, रुपा थापामगर, प्रतीक्षा रानामगर, भीमलाल गाहामगर, बबिन गाहामगर, कृष्ण रानामगर, कोटबहादुर वाचेमगर, प्रेमकुमारी आलेमगरलगायतका कलाकारहरूको अभिनय रहेको छ । सन्तोष पिठाकोटेमगरको छायाङ्कन रहेको यस चलचित्रको सम्पादन चलचित्र निर्देशक छवि रानामगरले गर्नुभएको हो ।

Advertisment