प्रदेशस्तरीय लोकगायन प्रतियोगितामा उत्कृष्ट पाँच छानिए

रूद्र श्रीसमगर
पोखरा, १२ जेठ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी र धौलागिरि अञ्चल कार्यसमितिले आयोजना गरेको प्रदेश नं. ४ को प्रदेशस्तरीय लोकगायन प्रतियोगितामा दुई वैकल्पिकसहित सात जना उत्कृष्ट छानिएका छन् ।
शनिबार पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा बागलुङका रेशम निर्दोष पहिलो हुनुभयो । उहाँसहित कास्कीका उमेश अधिकारी, नवलपुरका अर्जुन सापकोटा, गोरखाका पवन श्री परियार र कास्कीका आयुष परियार क्रमशः उत्कृष्ट पाँचमा पर्नुभयो भने दुई जना वैकल्पिकमा तनहुँकी रेनु रिलामीमगर र नेत्र खड्का छानिनुभयो ।
२३ जना विभिन्न जिल्लाका कलाकारहरूबाट छानिएका कलाकारहरूले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्ने फाइनल राउण्डको राष्ट्रव्यापी लोकगायन प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । जसमा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार साथै, स्कुटर, निःशुल्क गीत रेकर्डिङ, निःशुल्क म्यूजिक भिडियो छायाड्ढनलगायतका पुरस्कार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको निर्णायकका रुपमा नवराज बराल, शान्ति गुरुङ र तारापति सुवेदी रहनुभएको थियो । कार्यक्रममा गाउँशहरमा लमजुङ दरबारकी गायिका माया गुरुङ, कुमार पुन, पशुपति शर्मा, चोलेन्द्र पौडेल र ईश्वर सिंहले सांगीतिक प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रदेश नं. ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्नुभएको थियो भने सो अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष एवं संरक्षक पुरुषोत्तम न्यौपाने, कार्यक्रम संयोजक सुरेन्द्र गुरुङलगायतले बोल्नुभएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी अध्यक्ष शंकर विरही गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धौलागिरिका महासचिव पूर्ण परियार र अध्यक्ष राजेन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

Advertisment